काठमाडौंः गैरकानूनी तवरले अमेरिका पठाउने गिरोहका मुख्य नाइकेलाई प्रहरीले पक्राउ गरेको छ। हिजो मुख्य नाइकेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–११ घर भएर पेप्सीकोला बस्ने नारायण कुमार खड्का छन्। खड्काले युरोप र अमेरिका पठाउने लोभ देखाएर ४ करोड ३३ लाख ६८ हजार ११२ रुपैँया ठगेका थिए।
खड्काविरुद्ध दुर्गाबहादुर वली, कमला डाँगीलगायतले कार्यालयमा जाहेरी दिएका थिए। खड्काको बैंक खातामा ४ करोड ३३ लाख ६८ हजार रुपैयाँ आर्थिक कारोबार गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए।
खड्काविरुद्ध विभिन्न प्रहरी युनिटहरुमा ८ वटा बैंकिङ्ग कसुरको मुद्दापनि दर्ता भएको भेटिएको छ। बैकिङ्ग कसुर र ठगी मुद्दामा प्रहरीले खोज्न थालेपछि उनी पछिल्लो समय भारतमा बस्न थालेका थिए।
काठमाडौंमा ‘हाई लिंक एजुकेशन कन्सल्टेन्सी छ’ भनेर उनले पीडितहरूबाट रकम असुल्दै आएका थिए। तर, उनले कन्सल्टेन्सी सञ्चालन गरेको नभेटिएको एसपी रेग्मीले बताए।
अमेरिका लैजाने लोभ देखाएर उनले पीडितहरूलाई घानासम्म लगेर अलपत्र बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनले पीडितहरूलाई अमेरिका लैजाने भनि सिंगापुर, आइबरीपोष्ट हुँदै घानासम्म पुर्याएर अलपत्र पार्ने गरेको प्रहरीले जनाएको छ।
खड्काले काठमाडौं, कलकत्ता, अजरबैजान, पोर्चुगल, सुरीनामा हुँदै अमेरिका, ग्रीस, क्यानेडा, फिनल्याण्ड, जर्मनी, मेक्सिको, ब्राजिल, पेरू, कोलम्बिया लगायतका देशहरू समेतमा पठाउने नाममा ठगी गर्दै आएका थिए।
खड्काले युरोप पठाए बापत प्रतिव्यक्ति ८ देखि १० लाख सम्म रकम लिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। खड्कालाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।