काठमाडौं : सरकारमा मन्त्री सहभागिताको विषयमा दुई समुहमा विभाजित सुदूरपश्चिमका नेकपा माओवादी केन्द्रका सांसद काठमाडौंमा छलफलमा जुटेका छ्न ।
सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलको विवाद चर्किदै गएपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलमा जुटेका हुन ।
सुदूरपश्चिममा नेकपा माओवादीबाट सुदूरपश्चिम सरकारमा मन्त्री सिफारिस गरेपछि पार्टीभित्र विवाद बढदै गएपछि प्रचण्डले उनीहरुलाई काठमाडौं बोलाएका थिए ।
सुदूरपश्चिममा सभामुख बाहेक माओवादीका १० जना सांसद छन् ।
संसदीय दलभित्र कुनै सल्लाह नगरेर मन्त्री सिफारिस गरेको भन्दै तत्काल मन्त्री नियुक्त नगर्न पाँच सांसदले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
सांसद खगराज भट्ट, झपट साउद, शिव ओली, रमेश धामी र जानकी कुँवर पौडेलले संयुक्तरूपमा ध्यानाकर्षण बुझाएका थिए ।
संसदिय दलमा सभामुख बाहेक माओवादी केन्द्रका १० सांसद छन् । पाँचजना मन्त्री सिफारिसमा असन्तृष्ट छन् ।
माओवादीबाट ओमविक्रम भाट ‘सरल’, अक्कल रावल र लक्ष्मी विक प्रदेश सरकारका मन्त्री बनिसकेका छन् ।
खासगरी सरकारमा मन्त्री पठाउँदा पार्टी र दलमा समेत छलफल नगरेकाले प्रदेश इञ्चार्ज गिरिराजमणी पोखरेल असन्तृष्ट देखिएका छन् ।
उनकै पहलमा सबै सांसदलाई काठमाडौं बोलाएर अध्यक्ष प्रचण्डसँग छलफल भइरहेको हो ।