धनगढी : दार्चुलाको एक विद्यालयमा विद्यार्थी बिना नै चार जना शिक्षक र कर्मचारीहरुले तलब भत्ता खाईरहकेका छन् । शैल्यशिखर नगरपालिका–८ मा रहेको लटिनाथ आधारभुत विद्यालयमा अहिले एक जनापनि विद्यार्थी छैनन् तर ७५ जना फर्जी विद्यार्थीको लिष्ट बनाई तलब भत्ता बुझ्दै आएको खुलेको हो ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक र कर्मचारीहरुले फर्जी विद्यार्थीको लिष्ट बनाएर आर्थिक अनियमितता गरेको आरोप लागेको छ। विगत दुई वर्षदेखि विद्यार्थी नभएको उक्त विद्यालयमा कर्मचारीहरु आर्थिक लाभ लिइरहेको स्थानीयवासी राजेन्द्र पन्तले बताए।
विद्यालयमा विद्यार्थी संख्या नभए पनि चार जना कर्मचारी राखिएको र तलब, दिवाखाजा, छात्रवृत्ती जस्ता सेवा सुविधाहरू लिइरहेको पन्तको आरोप छ।
यस विषयमा वडा अध्यक्ष केशव जोशीलले विद्यालय बन्द भएको समयमा अनुमगन गरेको बताए।
जोशीका अनुसार गतवर्ष वडा कार्यालयले ८ ओटा विद्यालयलाई अभिलेख र विद्यार्थी संख्यासहितको जन्मदर्ता दिन पत्रचार गरेको थियो। अन्य वडाले यस्तो पहल नगरेको उनले बताए। उनले प्रतिवेदनमा विद्यार्थी संख्या कम भएको कुरा उल्लेख गरेका थिए।
वडाध्यक्ष जोशीलले विद्यालयमा कार्यालय सहयोगीसहित चार जना कर्मचारी रहेको जानकारी दिए। उपलब्ध अभिलेखमा विद्यार्थी संख्या १५ थियो भने पनि वास्तविकता फरक रहेको देखिएको छ। लटिनाथ आधारभुत विद्यालयमा अहिले कुनै विद्यार्थी छैनन् भने पनि चार जना कर्मचारी कार्यरत छन्।
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख जयराज पन्तले यस विषयमा शुक्रबार पत्रचार गरेको र स्थलगत अनुमगन गर्न निर्देशन दिएको जानकारी दिए। उनले प्रधानाध्यपकलाई पछिल्लो तीन शैक्षिक सत्रको विद्यार्थीको जन्मदर्ता र हाजिरीसहितको विवरण बुझाउन भनेका छन्।
शैल्यशिखर नगरपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र बहादुर बिष्टले विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार विद्यालयलाई मर्ज गर्ने प्रक्रिया सुरु भएको बताए। नगर शिक्षा समितिबाट शिक्षकहरूको व्यवस्थापन गरिने र नयाँ भर्ना हुने विद्यार्थीलाई बालविकासमा राखिने जानकारी दिए।
लटिनाथ आधारभुत विद्यालयकी प्रधानाध्यपक तुलसी जोशीले चालू शैक्षिक सत्रमा कुनै विद्यार्थी नभएको स्वीकार गरेकी छन्। नगरपालिकाले विद्यालयलाई मर्ज गर्ने भनेपछि नयाँ विद्यार्थी भर्ना नगरेको बताएकी छन्। प्रधानाध्यपक जोशीले भत्ता, छात्रवृत्ती, दिवाखाजा केही पनि नलिएको जिकिर गरिन्।
दार्चुलाको यस घटनाले शैक्षिक व्यवस्थापनमा गम्भीर अनियमितताको सङ्केत गरेको छ। शिक्षा विकास तथा समन्वय इकाइले सत्यतथ्य पत्ता लगाउन र उचित कारबाही गर्न कदम चालेको छ।