काठमाडौं : रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय सुरक्षा परिषदलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् ।
रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले परिषदलाई अझ प्रभावकारी र सबै सुरक्षा संयन्त्रहरुको बीचमा सशक्त समन्वयको माध्यम बनाउनुपर्ने धारणा राखे ।
‘बाह्य चलखेललाई जस्तो कुनै अपराधीहरु आएर लुक्यो, विदेशबाट आएको सुरक्षाकर्मीले इनकाउन्टर गर्दाखेरि नेपालको सुरक्षाकर्मीलाई थाहा हुँदैन । सुरक्षा परिषदलाई थाहा हुँदैन । त्यो अवस्था पनि छ’, उनले भने ।
यस्तो अवस्थामा सुरक्षा संयन्त्रहरुका बीचमा प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताए । उनी भन्छन्, ‘तीन वटै सुरक्षा संयन्त्रको बीचमा सुरक्षा समन्वय गर्दै राष्ट्रिय सुरक्षा परिषदलाई सशक्त र प्रभावकारी बनाउनुपर्ने छ ।’
मन्त्री उप्रेतीले राष्ट्रिय सुरक्षा सम्बन्धी विधेयक अगाडि बढेको बताए ।