धनगढी : बझाङको बित्थडचिर गाउँपालिकाले झण्डै ३० लाखको खाजा मात्रै खाएको छ । २३ लाखमात्रै आम्दानी रहेको बित्थडचिरमा एक बर्षमा ३० लाखको खाजा मात्रै खाएको महालेखाले पुष्टि गरेको छ ।
बित्थडचिरमा आर्थिक बर्ष २०७९/०८० मा २३ लाख ५३ हजार १४४ आन्तरिक आम्दानी हुदाँ २४ लाख ९९ हजार ९९१ को खाजा तथा खानामा खर्च गरेको छ । त्यस बाहेक पालिकाको सभा सञ्चालनको नाममा ५ लाख खर्च गरेको छ ।
यसरी मनोमानी ढंगले गरेको खर्चलाई अनियमिता भएको भन्दै खर्च अनुपातमा मितव्ययी हुनुपर्ने ठहर गरेको छ ।
गाउँपालिकाले आन्तरिक आयको १ सय २७ प्रतिशत बढी खाजामा खर्च गरेको हो । महालेखा परिक्षकको प्रतिवेदनमा सो खर्च आन्तरिक आयको भन्दापनि निकै बढी देखिएका कारण खर्च घटाउनुपर्ने उल्लेख गरिएको छ ।
स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ बमोजिम ब्ययको बजेट अनुमान आन्तरिक आयको परिधि भित्र रही औचित्यको आधारमा बिविध खर्च गरिनुपर्ने भएपनि बित्थडचिरले आन्तरिक आम्दानी भन्दा बढी बिविध खर्च गरेको छ ।