धनगढी : साल्ट ट्रेडिङ कर्पोरेसनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भिड नलाग्न आग्रह गरेको छ।
नुन अभावको हल्लाले कार्यालयमा नुन लिन आउने सेवाग्राहीको भिड लागेपछि कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै नआत्तिन आग्रह गरेको हो।
कार्यालय प्रमुख टेकबहादुर बुढाले जिल्लाका तीनवटै क्षेत्रमा नुनको आवश्यक मौज्दात यथावत् रहेको बताए। उनले वर्षायाममा नुन ढुवानीमा समस्या हुने गरेकाले आइतबार मात्रै बिक्री गर्ने गरिएको जानकारी दिए।
उनका अनुसार मार्तडीमा दुई सय ७३ क्विन्टल, कोल्टीमा तीन सय ८७ क्विन्टल र मौरेमा ७५ क्विन्टल नुन मौज्दात छ।
बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले पनि नुनको अभाव नभएको भन्दै भिड नगर्न आग्रह गरे। उनका अनुसार प्रशासनले नुन र खाद्यान्नको मौज्दातको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको छ।