धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले तत्काल राजीनामा नदिने बताइएको छ। केन्द्रीय सत्ता समीकरणमा आएको फेरबदलसँगै प्रदेश राजनीति पनि प्रभावित भएका बेला नेकपा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिएको छ।
समर्थनमात्रै होइन, एमालेका तर्फबाट बनेका मन्त्रीहरुले राजीनामा नै दिएका छन्। योसँगै मुख्यमन्त्री स्पष्ट अल्पमतमा परेका छन्।
तर मुख्यमन्त्रीको सचिवालयले भने सोडारीले तत्काल राजीनामा नदिने जनाउँदै सुदूरपश्चिम पुगेर विश्वासको मत लिने जनाएको छ।
त्यसका लागि मिति तय नभए पनि ३० दिनभित्र त्यस्तो प्रस्ताव संसदमा राखिने सचिवालयको दाबी छ। सचिवालय भन्छ, ‘मुख्यमन्त्रीले राजीनामा दिनुहुन्न, ३० दिन पनि कट्दैन। संवैधानिक प्रावधानअनुसार संसद फेस गर्नुहुन्छ। राजीनामा दिने त्यस्तो केही कुरा छैन।’
मुख्यमन्त्री सोडारी भने अहिले संघीय राजधानी काठमाडौँमा छन्। उनको पार्टी एकीकृत समाजवादीको महाधिवेशनका क्रममा उनी फर्केका छैनन्।
केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य गर्ने नयाँ सहमति बनेपछि त्यसको असर सुदूरपश्चिममा पनि परेको हो।
तत्कालीन समयमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्तिका २ प्रदेश सभा सदस्यसहित एक स्वतन्त्रको समर्थनमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीकोे नेतृत्वमा ६ वैशाखमा सरकार बनेको थियो।
५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसदको आवश्यकता पर्छ। तर सोडारीले विश्वासको मत पाउने अवस्था देखिन्न। अंक गणितका आधारमा उनको सरकार सहजै ढल्ने देखिन्छ।
सुदूरपश्चिममा नेपाली कांग्रेसका १८ र नेकपा एमालेका ११ गरेर नयाँ गठबन्धनसँग २९ सांसद छन्। प्रदेश सभामा नेकपा माओवादी केन्द्र १०, नागरिक उन्मुक्ति पार्टी ७, नेकपा एकीकृत समाजवादी ४ तथा राप्रपा र स्वन्तन्त्र सांसद एक/एक छन्।
एमालेले समर्थन फिर्ता लिएपछि सोडारीलाई अहिले नेकपा माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका २, एकीकृत समाजवादीका ४ र स्वतन्त्र सांसद डा.तारा प्रसाद जोशीको मात्रै समर्थन यथावत छ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम एमाले-माओवादी गठबन्धनको बलमा एकीकृत समाजवादीका सोडारी ६ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए।
तर अहिले फेरिएको राजनीतिले एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सोडारीले एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिन सिद्ध गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ। सोही अनुसार उनले संसद फेस गर्ने जनाएका हुन् तर त्यो सहज भने देखिन्न।
र, यो पनि: अब सुदूरपश्चिमको सोडारी सरकार ढल्यो, नयाँ मुख्यमन्त्री को ?