काठमाडौं: नेकपा (एकीकृत समाजवादी)का नेता प्रेमबहादुर आले चर्चित पात्र हुन्। डोटीबाट निर्वाचित माननीय समेत रहेका उनी चाहे मन्त्री हुँदा होस् या प्रतिनिधि सभा सदस्य।
जहिल्यै उनी चर्चामा रहे। अहिले पनि पार्टीको महाधिवेशन छोडेर भारत पस्दै नेपाल फर्केपछि फेरि उनको चर्चा सुरु भएको छ।
करिब ८ महिनादेखि आफू पार्टीमा निष्क्रिय रहेको भन्दै उनले नेकपा एस छाडेको बताएका छन्। सोही कारण उनी एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटीमा पनि परेका छैनन्।
उनी भन्छन्, “यो पार्टीको राजनीतिक दिशा भएन, नेताहरूको हिम्मत पनि देखिएन,” आलेले भने, “त्यहीकारण म यो पार्टीमा विगत आठ महिनादेखि सक्रिय छैन। यस बीचमा म भारत भ्रमण गरेर फर्किएको छु।”
बिहीबार मात्र दिल्लीबाट काठमाडौं फर्किएका उनी अहिले आफू स्वतन्त्र भएको बताउँछन्।
भविष्यमा अरु राजनीतिक दलमा पनि नलाग्ने भन्ने प्रश्नमा उनले भविष्यमा जे पनि हुनसक्ने बताए। तत्कालीन समयमा नेकपा एमाले विभाजन हुँदा उनी एसमा लागेका थिए।