काठमाडौं: सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ घटाल थानमा डुबानमा परेको छ। अस्तिदेखि लगातार भैरहेको अविरल बर्सातका कारण डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–३ डोटी खोलाको पुछारमा रहेको थानक्षेत्र डुबानमा परेको हो।
सो क्षेत्रमा स्थानीय राज कुमार भट्टका अनुसार घटाल थानक्षेत्र जलमग्न बनेको छ। केही समय अगाडिमात्र घटालका कारिन्दाले त्यहाँ जलधारा पनि लगाएका थिए। जलधारा भन्नाले खडेरी पेरका बेला घटाल बाबासँग पानी माग्ने लगाइने पूजा बुझिन्छ।
जलधारा लगाउँदा घटाल थानमा रहेको घट्टमाैरामा घटालका कारिन्दाले पानीले भर्ने गरेका छन्।
घटालले चाहेमा ५ घडा पानीले पनि घट्टमाैरा भरिने र नचाहे दिनभर पानी हाल्दा पनि नभरिने गरेको स्थानीयको विश्वास छ।
किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ।
पश्चिमी क्षेत्रमा आस्तिकहरूमाझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहेको पाइन्छ।
खडेरी परेको वर्ष स्थानीयवासीले ‘पानी देऊ’ भन्ने नारा लगाउँदै खोलाको पानी लगेर घटालशिलाको घट्टमाैरामा पानी हाल्छन् र वर्षाको कामना गर्छन्।
घटाल देवताको उत्पति कहिले र कुन अवस्थामा भयो भन्ने कुरामा एक मत नभए तापनि महाभारतमा वर्णित भीमपुत्र घटोत्कच, यहाँ जुन देवताको रूपमा पूजित छन्, तिनको स्थान पहिले हालको घटाल भन्ने ठाउँमा थियो भन्ने किंवदन्ती रहेको छ।
यस्तै धामीले बालुवा र पानी खाने देवताको रुपमा परिचित घटालमा मेलाको रूपमा दसैं जाँत पनि लाग्ने गर्दछ। घटाल बाबासँग कसैले केही मागेमा मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ।