धनगढी : अविरल वर्षापछि सुदूर पश्चिमका पहाडी सात जिल्लामा खसेको पहिरो र तपाईका दुई जिल्लामा आएको बाढी र डुबानका कारण जनजीवन प्रभावित भएको छ ।
सात वटा पहाडी जिल्ला सडकका बिभिन्न भागमा खसेका पहिरोका कारण यातायात अवरुद्ध भएको छ ।
कैलालीको कैलारी गाउँपालिकाका केही वस्तीहरु डुबानमा परेका छन् । धनगढी उपमहानगरपालिकाको कनरी गाउँमा खुटिया नदी पसेको छ ।
खुटिया नदी बस्तीमा पसेपछि डुबानमा परेका केही परिवार सुरक्षित आश्रय स्थलमा सरेका छन् । पानीको बहाव बढ्दै गरेका कारण स्थानीय बासिन्दा त्रसित छन् ।
कन्द्रा र मोहना नदीमा बाढीपछि डुबानमा परेका भजनी नगरपालिकाको ५ र ७ वडाका ४० परिवार हुलाकी सडकमा आश्रय लिईरहेका छन् ।
सुदूर पश्चिमका डोटी, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा जोड्ने राजमार्गका बिभिन्न स्थानमा खसेको पहिरोका कारण सडक अबरुद्ध हुने र पहिरो हटाउने कार्यपनि संगसंगै भईरहेकोले लामो समयसम्म सडक अबरुद्ध हुन पाएको छैन ।
सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) रविन्द्र केसीले अविरल वर्षापछि पहाडी जिल्लाका बिभिन्न सडक खण्ड पहिरो खसेका कारण अबरुद्ध भएपनि अहिले सम्पूर्ण सडकमा यातायात सुचारु भएको बताए ।
अविरल वर्षाका कारण नदीको जलसतह बढ्ने क्रम जारी रहेकोले जोखिम भने बढ्दै गएको डिआईजी केसीले बताए ।