काठमाडौँ : नेपाल प्रहरीका एसएसपी दिपक रेग्मीलाई प्रहरी कार्यालय नक्सालमा उजुरी परेको छ ।
एसएसपी रेग्मीले केही समय अगाडि महिलासँग गरेको भिडियो वार्ता यतिबेला सामाजिक सञ्जालमा छरपष्ट छ । सोही विषयलाई लिएर महिलाका श्रीमान दीपक थापाले असार २५ गते उजुरी हालेका हुन् ।
उजुरीमा भनिएको छ ,’प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले मेरी श्रीमती मञ्जु क्षेत्रीसँग गैरकानूनी रुपमा अनैतिक सम्बन्ध राखी आफ्नो पदको दुरुपयोग गरी मलाई जबरजस्ती करणीको झुट्टा मुद्दा दर्ता गराएका छन् । मेरो आमालाई ६४ लाखको घर खर्च चलाउन ल्याएको भनि झुट्टा तमसुक गराई ऋणको झुट्टा मुद्दामा फसाएका छन् ।’
साथै, थापाले आफूलाई आधारहीन आरोप लगाएर आफ्नो प्रतिष्ठामा नै धक्का पुर्याएको उल्लेख गर्दै भनेका छन् ,’ मेरो प्रतिष्ठामा धक्का पुर्याएको छ र यसले मेरो परिवारलाई ठूलो भावनात्मक र मानसिक तनाव दिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीका कारण हाम्रो जीवन स्थिरताविहीन भएको छ र पहिले जसरी कहिल्यै नहुने गरी बिग्रिएको छ ।’
महिलाका श्रीमान दिपक थापाले आफू कानुन पालना गर्ने नागरिक भएकाले न्यायप्रति विश्वास गर्दै प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मी विरुद्ध तुरुन्त कडा भन्दा कडा कारबाहीको लागि उजुरीमार्फत अनुरोध गरेका छन् ।
स्रोतका अनुसार एसएसपी रेग्मीलाई पोखराबाट अहिले प्रहरी प्रधान कार्यालय तानिएको बताइन्छ ।