चितवन – पूर्वी चितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ ।
फार्मका सञ्चालक सुमा अर्यालका अनुसार फुल अटोमेसन क्लोज हाउसमा पालिएका लेयर्स कुखुरामा सङ्क्रमण देखिएको हो । बर्डफ्लु देखिएसँगै कुखुरा, अण्डा, दाना, क्रेट, कार्टुनलगायतका सामग्री नष्ट गर्न थालिएको छ ।
अर्यालका अनुसार बर्डफ्लुका कारण प्रत्यक्ष, अप्रत्यक्षरूपमा रु २५ करोड हाराहारी नोक्सान हुने देखिएको छ ।फार्ममा केही दिनअघि गरिएको द्रुर्त परीक्षणमा सङ्क्रमण देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौं पठाइएको थियो ।
जिल्लामा यसबाहेक बर्डफ्लु देखिएका फार्ममा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको कार्यालयले जनाएको छ । केन्द्रका सूचना अधिकारी डा प्रभाश न्यौपानेका अनुसार ब्रोइलर ६४६, कडकनाथ ८९६, हाँस ३५ वटा नष्ट गरिसकिएको छ ।