धनगढीः कैलालीको अत्तरियामा सवारी दुर्घटना भएको छ। बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा सशस्त्र प्रहरीका २ जनासहित ५ जना घाइते भएका छन्।
शनिवार साँझ अत्तरिया–धनगढी ६ लेन सडक खण्ड अन्तरगत सब्जी मन्डी अगाडी भएको दुर्घटनामा मोटरसाइकलमा सवार २ जना सशस्त्र प्रहरी र बसमा सवार ३ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार धनगढीबाट अत्तरियातर्फ आइरहेको से १ ख ९१५ नम्बरको बसले सडक क्रस गरिरहेको सुदूरपश्चिम प्रदेश ०१०१० प ८६३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक डडेल्धुराको अजयमेरु गाउँपालिका–२ का ३० वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार सुरत ऐर र २८ वर्षीय सशस्त्र प्रहरी जवान निलम बोहरा घाइते भएका छन्। दुवै जना सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरियामा कार्यरत रहेका थिए।
त्यस्तै दुर्घटनामा बसमा सवार गौरीगंगा नगरपालिका–३ का ६५ वर्षीय मीनप्रभात जोशी, धनगढीकी २० वर्षीय करुणा चौधरी र घोडाघोडी नगरपालिका–६ की प्रियङ्कीत भण्डारी घाइते भएका छन्।
घाइते ४ जनाको अत्तरिया अस्पतालमा उपचार भइरहेको छ भने बायाँ खुट्टा र बायाँ हातमा चोट लागेका मोटरसाइकल चालक ऐरलाई भारत लगिएको छ। बस चालक गोदावरी नगरपालिका–१ का ३५ वर्षीय मीनबहादुर चौधरी र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा लिएको छ।
उपयुक्त हेडलाइन दिनुस् ।