धनगढी: छुट्यौ भने रुनुपर्ला… नदेउ भो धेरै माया, तिमी कहाँ म कहाँ हुनुपर्ला। गायिका अन्जु पन्तको यो गित सुन्न आजकाल बझाङको बित्थडचिर गाउँपालिका अध्यक्ष अमर महरलाई फोन गर्नुपर्छ।
उमेरले ५० कटेका महरको फोनमा राखिएको रिङटोन तन्नेरी केटाकेटीको जस्तै छ। मानौँ कि उनी कतै गहिरो मायापिरतीमा छन्।
सेवाग्राहीले फोन गर्दा फोनै उठ्दैन। बरु नचिनेको नम्बरबाट फोन आए काट्छन। सेवाग्राहीको भन्छन्-अध्यक्ष महरलाई फोन गर्दा सुनिने त्यहीँ एउटा रिङटोन हो छुट्यौ भने रुनुपर्ला।
उनको फोन नउठ्न समस्या नौलो होइन। तर जरुरी कामले फोन गर्दा पनि उनको फोन नउठ्ने सेवाग्राहीले गुनासो गरेका छन्।
उसो त अध्यक्ष महर गाउँपालिकाकै कर्मचारीको फोन उठाउदैनन्।
प्रसंग बजेटको हो। असार २५ गते काठमाडौं हानिएका अध्यक्ष महर उतै गायब छन्। गाउँपालिकाको आर्थिक बर्ष २०८१/०८२को बजेट ल्याउन छोडेर काठमाडौं हानिएका महरको फोनै उठ्दैन।
अध्यक्ष महरको अनुपस्थितिले बित्थडचिर गाउँपालिकामा बजेट ल्याउने कार्य रोकिएको छ। आन्तरिक विवाद र खिचातानीले गर्दा गाउँपालिकाले बजेट ल्याउन सकेको छैन। यसले गर्दा गाउँपालिकाका विकासका योजना र कार्यक्रमहरू प्रभावित भएको बताइएको छ।