धनगढी : नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सदस्य नवीन थापालाई कारबाही गरिएको छ।
अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको हितविपरीत कार्य गरेको भन्दै थापालाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेकी हुन्।
अवसरकै लागि नाउपा छिरेका थापा यसअघि कृषि मन्त्री घनश्याम चौधरीका स्वकीय सचिव बनेका थिए। पार्टी भित्र रञ्जिताविरुद्व लागेपछि थापा निकाला भएका हुन्।
यस्तै नागरिक उन्मुक्ति पार्टीले राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन नागरिक उन्मुक्तिले अरुणको नाम सिफारिस गरेको हो।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री ओलीलाई सिफारिस पत्र पठाएकी छन्। स्रोतका अनुसार उनी केही दिनमै सपथ लिनेछन्। नागरिक उन्मुक्तिलाई पर्यटन राज्यमन्त्री दिने प्रधानमन्त्री ओलीको तयारी छ।
उनी राष्ट्रपतिबाट माफी पाएका व्यक्ति हुन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा सजाय माफी गरिदिएकी थिइन्।
२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जनालाई छ महिना कैद सुनाएको थियो।