काठमाडौं: नेपाल प्रहरीले हिजो गरेको लेखापाल सरुवा विवादित बनेको छ। झण्डै तीन सय लेखापाल (एकाउण्टेण्ट) को काज सरुवा गरिएकोमा सो विषय विवादमा मुछिएको हो।
हेडक्वाटर नक्सालले गरेको भनिएको २८९ जना लेखापालको सरुवामा गृह मन्त्रालयको चर्को हस्तक्षेप र भागबन्डा भएको बताइएको हो।
हेडक्वार्टरको मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले उनीहरुको काज सरुवा अर्थात् अर्को आदेश नभएसम्म लेखाप्रमुखको रुपमा कामकाजमा खटाइएको परिपत्रमा उल्लेख छ।
सामान्यतयाः असई, सई, वरिष्ठ सई, केही इन्सपेक्टर कार्यरत हुने लेखामा उच्च तहका कर्मचारीको मात्रै सरुवा गर्ने मन्त्रालयले आँखा लगाएपछि चर्को आलोचना भएको बताइन्छ। जबकि एसपीसम्मको सरुवा आइजीपी स्वयमले गर्नुपर्ने कानुनी व्यवस्था छ।
उसो त काज सरुवा सामान्यतयाः एकाध कर्मचारीलाई विशेष प्रयोजनमा खटाइने प्रशासनिक भाषा हो। तर, झण्डै तीन सयको सरुवालाई काज भनिएको छ। यस अगाडि पनि गृहमन्त्री रमेश लेखकले एसपी, डिएसपी र इन्सपेक्टरको सरुवा गर्दै आएका छन्।
उनीमाथि आफ्ना मान्छेको छानिछानी काज गराइरहेको बुझिएको छ। आईजीपीको जिम्मेवारीको काम पनि गृहमन्त्रीबाटै हुन थालेपछि नक्साल बदनामित हुन पुगेको छ।
हाल हेडक्वार्टरको लेखामा डिएसपी वीरेन्द्र गोदार छन्। उनका कमाण्डर डिआइजी केदार ढकाल हुन्। नेपाली काँग्रेसप्रति नरम देखिएका ढकाललाई प्रयोग गरेर गृह मन्त्रालयले तीन सय एकाउण्टेण्टको सरुवा गरेको एकथरीको आरोप छ।
यसअघि प्रधान कार्यालयले हरेक असार मसान्तभित्र लेखापालहरुको सरुवा गर्थ्यो। जसमा एउटा कार्यालयमा दुई वर्ष लेखापाल भएकाहरुको असार मसान्तमा सरुवा गर्ने चलन छ।
आर्थिक वर्षको प्रारम्भमा सबै कार्यालय तथा युनिटमा नयाँ आर्थिक वर्षको बजेट पठाइने भएकाले धेरै बजेट हुने कार्यलयमा जान र पठाउन लेखापाल तथा ठूलाबडाहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको विगत देखिएको थियो।
प्रहरी स्रोतका अनुसार नेपाली काँग्रेस र एमालेबीच गत असार १७ गते नयाँ सरकार गठनको सहमति र लगत्तै बनेको नयाँ सरकारका कारण लेखापाल सरुवाको गृहकार्य रोकेको थियो।
असार ३१ गते रमेश लेखक गृहमन्त्री बनेपछि हिजो राति उनीहरुको सरुवा भएको हो।