काठमाडौं: नागरिक उन्मुक्ति पार्टीले राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन नागरिक उन्मुक्तिले अरुणको नाम सिफारिस गरेको हो।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री ओलीलाई सिफारिस पत्र पठाएकी छन्।
स्रोतका अनुसार उनी केही दिनमै सपथ लिनेछन्। नागरिक उन्मुक्तिलाई पर्यटन राज्यमन्त्री दिने प्रधानमन्त्री ओलीको तयारी छ।
उनी राष्ट्रपतिबाट माफी पाएका व्यक्ति हुन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा सजाय माफी गरिदिएकी थिइन्।
२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जनालाई छ महिना कैद सुनाएको थियो। यतिमात्र होइन, अहिले पनि उनी कालोसूचीमा रहेका व्यक्ति हुन्।
उनले आफ्नो कैलालीस्थित लम्कीको जम्मा १ कट्ठा जग्गालाई सडकसमेत देखाएर ७ कट्ठा बनाई विभिन्न बैंकबाट लोन लिएका थिए। सो क्रममा उनले म्यानेजरलाई पैसा खुवाएको पनि बताइन्छ।
तर उनले सो लोन चुकाउन नसकेपछि यस अगाडी नै बैंकले उनको घर र जग्गा लिलामका लागि सार्वजनिक सूचना निकालेको थियो।
यसरी लिलामी गर्नेमा सिद्धार्थ बैंक, मेघा बैंक (अहिलेको इन्भेस्टमेन्ट) रहेका छन्। उनीहरूले हुनेवालाई मन्त्री चौधरीलाई सूचना निकालेर कालोसूचीमा राखेको पनि बुझिएको छ।
उनका बैंक खाताहरु पनि सबै रोक्का भएका छन्।