धनगढी : सुदूरपश्चिम प्रदेशमा अहिले विशेष अधिवेशन चलिरहेको छ । ४ गते प्रदेश प्रमुख नजिर मियाँसमक्ष २१ जना सांसदहरूले विपद्का विषयमा सरकारलाई निर्देशन दिन आवश्यक रहेको भन्दै अधिवेशन आह्वान गर्न लिखित आग्रह गरेका थिए ।
उनीहरूले संघीय, स्थानीय तहको सरकार र सरोकारवाला निकायहरूसँग समन्वय ,सहकार्य र कार्यान्वयनको सवालमा समेत वर्तमान प्रदेश सरकार मूकदर्शक भई बसिरहेको र प्रदेशसभा बैठकलाई समेत अन्त्य गरी जिम्मेवारीबाट पन्छिएको हुँदा अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष लिखित आग्रह गरेका थिए ।
संसद् अन्त्य भएकै भोलिपल्ट प्रदेश प्रमुख मियाँले ८ गते दिउँसो २ बजेको लागि बैठक आह्वान गरे । तर, सरकारले उक्त बैठकको औचित्य नरहेको भन्दै कुनै पनि मन्त्री सहभागी नहुने बतायो ।
मुख्यमन्त्री दीर्घ सोडारीको निर्देशन उल्लङ्घन गर्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापा बैठकमा सहभागी भइन् । एक जना मन्त्री उपस्थित भएपछि बैठक सुरु भयो । उक्त बैठकमा मुख्यमन्त्री सोडारीसहित अन्य कुनै पनि मन्त्री आएनन् ।
त्यसको अघिल्लो दिन बसेको कार्य व्यवस्था परामर्श समितिमा पनि सरकारको सहभागिता थिएन ।
८ गतेको बैठकमा सभामुख भीम भण्डारीले प्रदेश प्रमुखले पठाएको पत्र पढेर सुनाए र बैठक करिब १ मिनेटमै सकियो । अर्को सूचना जारी नहुँदा सम्म स्थगित गरिएको बैठक दोस्रो पटक आइतबार बस्यो ।
बजेट पारित गर्न नसकेपछि सरकारले अध्यादेश ल्याउने तयारी गरेको थियो तर, त्यो भन्दा पहिले नै एक चौथाइ सांसदले लिखित रूपमा प्रदेश प्रमुखलाई बैठक आह्वान गर्न भनेर बैठक आह्वान भएपछि अध्यादेश ल्याउने मुख्यमन्त्रीको तयारीमा ब्रेक लागेको थियो ।
मुख्यमन्त्री सोडारी त्यसपछि रुष्ट भएका थिए । प्रदेश प्रमुखले आह्वान गरेको अधिवेशन सुरु भएपछि सोडारी दुवै बैठकका उपस्थित भएनन् ।
मुख्यमन्त्री सोडारीले कुनै पनि मन्त्रीलाई बैठकमा सहभागी नहुन निर्देशन दिएका थिए । अघिल्लो पटक पनि कृषि मन्त्री थापा मुख्यमन्त्रीको निर्देशन उल्लङ्घन गरेर बैठकमा सहभागी भएको हुँदा आइतबार पनि उनी सहभागी हुन सक्ने भन्दै उनलाई पनि मुख्यमन्त्री सोडारीले फोन गरेरै नजान भनेका थिए । तर, थापा बैठकमा गइन् र बैठक सुरु भयो । आफ्नो निर्देशन पालना नगरेर संसद् गएको भन्दै मुख्यमन्त्री सोडारीले मन्त्री थापालाई काठमाडौँबाटै बर्खास्त गरे ।
उक्त बैठकका बोल्ने प्रतिपक्षले मात्रै होइन सत्ता पक्षका सांसदले पनि मुख्यमन्त्रीले संसद् छलिरहेको भन्दै आलोचना गरे ।