काठमाडौं: सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने तयारी थालेको छ। गृहमन्त्रालय स्रोतका अनुसार केही दिनमै एआईजीहरुको सरुवा हुनेछ।
हालै बढुवा सिफारिस भएका एआईजी रामदत्त जोशीको पदस्थापनसँगै केही एआईजीहरुको सरुवा हुन लागेको हो।
सरुवामा उपत्यका प्रहरी कार्यालय रानीपोखरी र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख पनि परिवर्तन हुने बुझिएको छ।
अहिलेसम्मको तयारीअनुसार हाल उपत्यका प्रहरी कार्यालय (मेट्रो) का प्रमुख एआईजी दिपक थापालाई सिआईबीमा पठाउने तयारी छ।
उता अर्का हाल प्रशासन विभागको नेतृत्व सम्हालिरहेका एआईजी टेकप्रसाद राईले भने काठमाडौँ उपत्यका प्रहरी कार्यालय जान चाहेका छन्। त्यस्तै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको नेतृत्व सम्हालिरहेका एआईजी सुदिप गिरीले पनि सिआईबीमा जान खोजेको बताइएपनी उनको इच्छा पूरा हुने सम्भावना न्यून रहेको बताइएको छ।
उता सुनकाण्ड लागेर सिआइबीबाट कारबाही गरी हटाइएकी एआईजी किरण बज्राचार्य पनि प्रधानमन्त्री केपी शर्मा ओलीका पिए राजेश बज्राचार्यमार्फत सरुवा हुने योजनामा छिन्। तर उनले आकर्षक पोष्टिङ पाउन भने मुस्किल देखिन्छ।
त्यस्तै तत्कालीन गृहमन्त्री रवि लामिछानेले सिआइबीको जिम्मेवारी दिएका एआईजी श्यामलाल ज्ञवालीको जिम्मेवारी पनि खोसिने लगभग पक्का छ। उनलाई चार महिनामै हटाउन लागिएको हो। ज्ञवालीलाई राष्ट्रिय सुरक्षा परिषद्मा पठाउने तयारी छ।
त्यस्तै हालै बढुवा सिफारिस भएका रामदत्त जोशी पनि सुदूरपश्चिमको नाता लगाएर राम्रो ठाउँमा पोष्टिङ मिलाउने दाउमा छन्। गत ७ साउनमा जोशीको एआईजीमा बढुवा सिफारिस भएको थियो।
उजुरीको समय सकिएकाले अब आउने बिहीबारको मन्त्रिपरिषद्को बैठकले बढुवा, पदस्थापन र सरुवाको निर्णय गर्ने सम्भावना छ। स्रोतले भने उनको खाली रहेको प्रदेश समन्वय विभागमा पदस्थापना गर्ने तयारी भएको जनाएको छ।
यस्तै हाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका एआईजी टेकबहादुर तामाङको भने प्रशासन विभागमा सरुवा हुने सम्भावना रहेको स्रोत बताउँछ।
त्यसैगरी मानवस्रोत विभागका प्रमुख भीमप्रदाद प्रसाद ढकाललाई भने यथावत राख्न खोजिएको छ।