धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज पदबाट राजीनामा दिने भएका छन्। उनले प्रदेश सभामा गएर सम्बोधन गर्दै राजीनामा दिने भएका हुन्।
स्रोतका अनुसार उनले प्रदेश सभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने भनिएपनी राजीनामा दिन लागेका हुन्। आज ४ बजे प्रदेशसभा बैठक डाकिएको छ।
एमालेले सरकारलाई दिएको विश्वास फिर्ता लिएपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो। ५३ सदस्यीय प्रदेशसभामा विश्वासको निम्ति कम्तीमा २७ जनाको समर्थन चाहिन्। तर,मुख्यमन्त्रीको पक्षमा आफ्नो दल नेकपा एकीकृत समाजवादीका चार र माओवादी केन्द्रका १० गरेर कूल १४ जना मात्रै सदस्य छन्।
विपक्षमा काँग्रेसका १८ र एमालेका ११ गरेर २९ जना प्रदेशसभा सदस्य छन्। उनी एमाले,माओवादी,नागरिक उन्मुक्ति र स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा वैशाख ५ गते सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए। असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका हुन्।
सुदूरपश्चिम सरकारले असार १ गते सार्वजनिक गरेको बजेट पारित हुन सकेको छैन। साउन १ गतेदेखि प्रदेश सरकार बजेट होलिडेको अवस्थामा रहेको सरकारी खर्च ठप्प छ।