धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले राजीनामा दिएका छन्।
२० असारमा अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिन संसद् आह्वान गरेका थिए। उक्त संसद्मा सम्बोधन गरेर उनले राजीनामा दिएका हुन्।
अहिले संसद्मा मार्ग प्रशस्त गरेको घोषणा गरेर मुख्यमन्त्री सोडारी राजीनामा पत्र बुझाउन प्रदेश प्रमुख कार्यालय पुगेका छन्।
शुक्रबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने सम्भावना नदेखिएको भन्दै राजीनामा घोषणा गरेका थिए।
गत असार २० गते एमालेले सरकारको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सोडारी अल्पमतमा परेका थिए। उनले एमालेले समर्थन फिर्ता लिएको ३० औँ दिन विश्वासको मत लिने उदेश्यले प्रदेशसभा बैठक माग गरेका थिए।
तर, बैठकमा उनले राजीनामाको घोषणा गरे। सो क्रममा उनले भने, ‘विश्वासको मत मेरो पक्षमा छ भन्न त आएको हुँ। तर, यसो हेर्दा विश्वासको मत छ जस्तो छैन। मलाई मुख्यमन्त्री बनाएका माननीयजयूहरुले मार्गप्रस्तत गर्नु भनेको जस्तै मार्गप्रसस्त गर्ने घोषणा गर्छु।’
त्यस्तै उनले बैठकमा अहिले केन्द्रमा बनेको नयाँ सरकारले संविधान संशोधन गर्ने कुरालाई इङ्गित गर्दै सो संविधान निर्माणका लागि पहिले आन्दोलन गर्दा आफूलाई गोलीसमेत लागेको स्मरण गरे। अहिले त्यहीँ संविधानको र समानुपातिक व्यवस्थामाथि संकट पैदा भएको उनले बताएका थिए।
यहाँ प्रदेशसभामा कांग्रेसका १८, एमालेका ११, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १ र एक स्वतन्त्रसहित ५३ प्रदेशसभा सदस्य छन्।
५३ सदस्यीय प्रदेशसभामा विश्वासको निम्ति कम्तीमा २७ जनाको समर्थन चाहिन्। तर, मुख्यमन्त्रीको पक्षमा आफ्नो दल नेकपा एकीकृत समाजवादीका चार र माओवादी केन्द्रका १० गरेर कूल १४ जना मात्रै सदस्य थिए। सोही कारण उनले राजीनामा दिएका हुन्।
यस अगाडी सुदूरपश्चिम सरकारले असार १ गते सार्वजनिक गरेको बजेट पारित हुन सकेको छैन। साउन १ गतेदेखि प्रदेश सरकार बजेट होलिडेको अवस्थामा रहेको सरकारी खर्च ठप्प छ। यो विषयमा पनि मुख्यमन्त्री सोडारीले पहिलेका सत्ता साझेदार दलले नै बजेट अलपत्र पारेको जनाएका छन्। अब सोडारी सरकार ढलेपछि नेपाली काङ्ग्रेसको नेतृत्वमा एमालेसहितको सरकार बन्ने छ।