धनगढी: सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले बजेट शून्यताको अवस्था चाडै अन्त्य गर्ने बताएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै शाहले हिजो बजेट शून्यताको अवस्थालाई छिट्टै अन्त्य गरेर राजश्व संकलन र दैनिक खर्चको विषयमा निकाश दिने बताएका हुन्।
‘आज सरकार गठनको प्रक्रियालाई हेरेपछि यो सरकार तिव्रताका साथ काम गर्छ भन्ने सन्देश गएको छ। हामी सचिव ज्यूहरुसँग बसेर राजश्व र दैनिक खर्चको कुरामा एक÷दुई दिनभित्र निकास दिन्छौँ,’ उनले भने।
शाहले राजश्व र दैनिक खर्चको विषय व्यवस्थाप भइसकेपछि प्रदेश सभाको बैठक बोलाएर पूर्ण बजेट निर्माणको प्रक्रियालाई समेत अघि बढाइने बताएका छन्। दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका शाहले ६ जना मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गर्दै सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्।
पदभार ग्रहण गरेपछि शाहले वित्तिय अनुशासन, सुशासन प्रवद्र्धन, भ्रष्टाचार न्यूनीकरणका विषयमा अध्ययन गरि १५ दिनभित्र प्रतिवेदन पेश गर्न मुख्यमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा समिति पनि गठन गरेका छन्।
जबकी उनलाई यस अगाडीको कार्यकालमा भ्रष्टाचार गरेको आरोप लागेको थियो। उनलाई काठमाडौं आउजाउमै अनावश्यक खर्च गरेको विपक्षीले आरोप लगाएका थिए। अहिले पनि मुख्यमन्त्रीको पहिलो निर्णयलाई लिएर प्रतिपक्षीले मुख्यमन्त्रीबाट गफ दिने काम मात्रै भएको र हुने बताएका छन्। सुदूरपश्चिमका मुख्यमन्त्री शाह तत्कालीन समयको मुख्यमन्त्री हुँदा एक वर्षको अवधिमा २२ पटक काठमाडौं ओहोर दोहोर गरेका थिए।
कतिसम्म कि शाह महिनामै ३ पटकसम्म संघीय राजधानी धाएका थिए। एमालेका राजेन्द्र रावलले विश्वासको मत पाउन नसकेपछि २६ माघमा मुख्यमन्त्री नियुक्त भएका शाहले २७ माघमा पदभार ग्रहण गरेका थिए। उनै शाहले काठमाडौँ आउजाउमा एक वर्षमा साढे ८ लाख रुपैयाँ खर्च गरेका थिए।
पदभार ग्रहण गरेको भोलिपल्टै २८ माघदेखि काठमाडौ धाउन थालेका शाहले दैनिक भत्ता र हवाइजहाज भाडा शीर्षकमा ५ लाख ५६ हजार रुपैयाँ खर्च गरेका थिए भने उनको निजी सचिवालयमा कार्यरत कर्मचारीको भत्तामा २ लाख ८९ हजार रुपैयाँ खर्च भएको थियो।
मुख्यमन्त्री शाह २०७९ फागुनमा ३ पटकसम्म काठमाडौं गएका थिए। ९ फागुनमा काठमाडौँ गएका शाह १५ गते फर्किए, त्यसपछि फेरि २४ फागुनमा काठमाडौं गएका शाह २६ गते फर्किए। तेस्रो पटक भने उनी २८ फागुनमा गएर २९ फागुनमा फर्किएका थिए।
त्यतिखेर मुख्यमन्त्रीको काठमाडौं दौडधुप प्रदेशसभामा विश्वासको मत लिनका लागि थियो। सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन विभिन्न शर्त राखेको थियो। त्यसका लागि पार्टीको नेतृत्व तहकै छलफलका लागि उनी काठमाडौं धाएका थिए।
आफ्नै पार्टीबाट मन्त्री छान्न र सत्ता साझेदार अरु दलबाट मन्त्री छान्न पनि शीर्ष नेताबाटै निर्णय हुनुपर्ने स्थिति भएकाले मुख्यमन्त्री शाह काठमाडौं धाइरहेका थिए।
फागुनपछि मुख्यमन्त्री शाह २ चैतमा फेरि काठमाडौं गए र ४ गते फर्किए। त्यसको भोलिपल्ट ५ गते पुनः सुदूरपश्चिमको विकास सम्बन्धी छलफलमा सहभागी हुन भन्दै काठमाडौं पुगे।
गत मंसिरमा समेत शाह तीन पटक काठमाडौं आउजाउ गरे। ४ मंसिरमा अर्थतन्त्रको विद्यमान अवस्था र भावी कार्यदिशाबारे छलफलमा भाग लिन भन्दै गएका शाह ६ गते फर्किए। फेरि एक दिन मात्र धनगढी बसेर शाह ८ मंसिरमा काठमाडौं गए र १३ गते फर्किए। त्यसपछि फेरि १६ मंसिरमा काठमाडौं गएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको थियो।
कार्यालयका अनुसार शाह गत वर्षको माघ एक पटक, फागनुमा ३ पटक, चैतमा ३ पटक, २०८० को वैशाखमा एक पटक, जेठमा दुई पटक, असारमा एक, साउनमा दुई, भदौमा दुई, असोज र कात्तिकमा दुई-दुई पटक र मंसिरमा तीन पटक काठमाडौं गएका थिए।
शाहले सो समयमा आफ्नो एक वर्षको कार्यकालमा ६८ दिन संघीय राजधानी काठमाडौंमा बिताएका थिए। मुख्यमन्त्री शाहको अत्यधिक काठमाडौं आउजाउको विषयलाई आलोचना भएको थियो। मुख्यमन्त्रीको त्यो काठमाडौँ यात्रालाई उनीमा निर्णय गर्ने क्षमताको कमीका रुपमा बुझिएको थियो।
त्यसबेला अहिलेका सत्ता साझेदार दल र तत्कालीन विपक्षी दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीको काठमाडौं आउजाउलाई तीर्थाटनको संज्ञा दिएका थिए।
त्यसबेला काठमाडौं आउजाउबाहेक एक वर्षको अवधीमा मुख्यमन्त्री शाहको सेवा सुविधामा ५१ लाख ४३ हजार रुपैयाँ खर्च भएको पाइएको थियो। मुख्यमन्त्री शाह र उनको निजी सचिवालयमा कार्यरत कर्मचारीको पारिश्रमिकमा ३८ लाख २१ हजार रुपैयाँ खर्च भएको पाइएको थियो।
इन्धनवापत १३ लाख २१ हजार रुपैयाँ खर्च भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गराएको सूचनामा उल्लेख छ। एक वर्षमा मुख्यमन्त्री शाहले पारिश्रमितक वापत १० लाख ४५ हजार रुपैयाँ बुझेका थिए भने सचिवालयमा कार्यरत कर्मचारीको पारिश्रमिकमा २७ लाख ७६ हजार खर्च भएको थियो।
मुख्यमन्त्रीको पारिश्रमिक, इन्धन सुविधा, हवाइ टिकट र दैनिक भ्रमण भत्तामा कुल ५९ लाख ८९ हजार खर्च गरेको पाइएको थियो। यतिमात्र होइन, शाहले कर्मचारीका विभिन्न सरुवा बढुवामा पनि भ्रष्टाचार गरेको आरोप लागेको थियो। अहिले भने उनले कसरी काम गर्छन्, त्यो हेर्न बाँकी छ।