काठमाडौं: सुदूरपश्चिम प्रदेशमा सत्ताधारी दलका माननीय नै प्रदेश सभामा झोक्किएका छन्। आज बसेको प्रदेश सभा बैठकमा सत्ता पक्षका सांसदहरूले विरोध तथा नाराबाजी गरेका हुन्।
सुदूरपश्चिम निजामती सेवा ऐन ०७९’ लाई संशोधन गर्न बनेको विधेयक पारित हुँदै गर्दा नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले रोस्टम अगाडी आएर नाराबाजी गरेका हुन्।
नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले रोस्टम मै उभिएर अहिलेको ऐन समावेशी नभएको भन्दै आफूले विरोध गर्ने बताएका थिए।
‘समावेशिताको विषय उल्लेख गरिएको छैन। यो कुरा गलत भएको छ। यसलाई संशोधन गर्नु पर्छ।’ उनले भनेका थिए। विपन्न खस आर्यलाई कोटा बढाएको भन्दै उनले विपन्न खस आर्य मात्रै नभएको , गरिब कमैया कमलरी पनि रहेको बताएका थिए। उनले रातो परिचय पत्र समेत नपाएको समुदायलाई सरकारले विभेद गरेको बताए। चौधरीले सरकारले कुनै छलफल नगरेरै विधेयक ल्याएको भन्दै आफूहरूले विरोध गरेको जनाएका थिए।
‘यथास्थितिमा पारित गर्न खोजियो भने हामी समर्थन गर्दैनौँ यहाँ विरोध गर्छौ’ उनले भनेका थिए। सरकारमा नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मण किशोर चौधरी मन्त्री छन्। उनी भने आजको बैठकमा उपस्थित भएका थिएनन्।
आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले संसद्मा उठेका विषयमा जवाफ दिएपछि सभामुख भीम भण्डारीले संशोधन हुने विषयहरूलाई विधेयकको अङ्ग बनाउन निणयार्थ प्रस्तुत गरेका थिए। त्यसमा एमाले कांग्रेसले समर्थन गरेका थिए भन् नागरिक उन्मुक्तिका पाँच जना सांसदहरूले उभिएर विरोध जनाएका थिए।
संसदीय दलका नेता घनश्याम चौधरीसहित रामेश्वर चौधरी, कैलाश चौधरी, टिका थापा र इन्दिरा गिरी उभिएर संशोधनको विरोध गर्दा कांग्रेस सचेतक गीता चौधरी पनि उभिएर विरोध गरेकी थिइन्। यता माओवादीका दुई सांसद शिवसिंह ओली र लक्ष्मी विकले हुन्न भन्दै विरोध गर्दा माओवादीका अर्का सांसद अक्कल रावल भने मौन रहेका थिए।
सुदूरपश्चिम प्रदेशमा माओवादीका सभामुखसहित ११ सांसद भएपनि आज चार जना मात्रै उपस्थित थिए।अन्तिमसम्म तीन जना मात्रै रहे। आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीलाई सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन ०७९’ लाई संशोधन गर्न बनेको विधेयकलाई पारित गर्न प्रस्ताव पेश गर्दा पनि उनीहरु सबै उभिएरै विरोध जनाएका थिए।
चार मिनेट सम्म नाउपाका सबै र कांग्रेसको सचेतकले उभिएर विरोध जनाए। सुदूरपश्चिममा कांग्रेसका मुख्यमन्त्री भने नाउपाका एक मन्त्री सरकारमा छन्।
मन्त्रीको प्रस्ताव पछि सभामुख भण्डारीले विधेयक पारित गर्न निणयार्थ प्रस्तुत गर्दा नागरिक उन्मुक्तिका सांसद रोस्टममै पुगेर नारा लगाउन थालेका थिए। तर कांग्रेस सचेतक गीता चौधरी र नाउपा कै सांसद टिका थापा भने नारा लगाउन पुगेनन्। नाउपाका सांसदहरूको नाराबाजीका बिच सभामुख भण्डारीले ऐन पारित भएको घोषणा गर्दै संसद् अर्को सूचना जारी नभएको सम्मको लागि स्थगित भएको सुनाएका थिए।
यस्तै सो विधेयकप्रति सदनमा विरोध भइरहँदा सडकमा पनि थारु समुदायले असन्तुष्टि जनाएका छन्।
विधेयकको खाकामा आफूहरूको जनसङ्ख्याको आधारमा पाउनुपर्ने समावेशी प्रतिशत उल्लेख नगरिएको थारु समुदायको गुनासो छ। सोहीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले मंगलबार सुदूरपश्चिम प्रदेश सभा धनगढी अगाडि धर्ना दिएका थिए।