काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूलाई चिन्दिन भनेको प्रसंगले अहिले चर्चा पाएको छ। हालै अस्ति साउन ३२ गते शुक्रबार बिहान १० बजे टिंकर सडक र मार्मा गाउँपालिकाका पहिरो विस्थापित परिवार पुनःस्थापनाको माग लिएर एक टोलीको साथमा बडू ओलीकोमा गएका थिए।
सो टोलीमा कांग्रेस, एमाले र माओवादी केन्द्र तीनवटै पार्टीका जनप्रतिनिधि र नेताहरू थिए। मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीको संयोजनमा दार्चुलाको प्रतिनिधित्व गर्दै ३५ जना नेता र जनप्रतिनिधि बालुवाटार पुग्दा व्यवस्थापनले १० जनाले मात्रै प्रधानमन्त्रीलाई भेटेर माग राख्न सक्ने बताएपछि उनीहरू भित्र पसेका थिए।
भित्र पसेका पूर्वमन्त्री एवं सांसद दिलेन्द्रप्रसाद बडू, एमाले नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, माओवादी केन्द्रका जमनसिंह धामी, अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा, लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी र एमालेबाट निर्वाचित महाकाली नगरपालिका प्रमुख नरसिंह चैसिरले प्रधानमन्त्रीसँग भेटेका थिए। मार्मा गाउँपालिका उपाध्यक्ष शर्मिला सिंह, एमालेनिकट खेलकुद महासंघका नेता जगतसिंह धामी र दार्चुला घर भई पोखरा विश्वविद्यालयमा कार्यरत डा. खेमराज जोशी पनि प्रधानमन्त्री भेट्ने टोलीमा थिए।
छोटो समय मात्रै उपलब्ध गराइएपछि भेटको शुरुमै एमाले नेता ठगुन्नाले प्रमुख उद्देश्य टिंकर सडकमा बजेट व्यवस्थापन र मार्मा गाउँपालिकामा बाढीपहिरोले पुर्याएको क्षति तथा विस्थापित परिवारलाई पुनःस्थापना रहेको बताएका थिए। एक मिनेटभित्र भेटघाटको उद्देश्य प्रस्तुत गर्दै नेता ठगुन्नाले ‘बाँकी विषयवस्तु पूर्वमन्त्रीज्यूले राख्नुहुन्छ’ भनी कुरा टुंग्याएका थिए।
लगत्तै प्रधानमन्त्री ओलीले ‘को पूर्वमन्त्री ?’ भन्दै प्रश्न गरेपछि सहभागी सदस्यहरूले मुखामुख गरे। एकछिनमै प्रधानमन्त्रीले ‘मलाई ख्याल नै भएन’ भन्दै बडूलाई चिनेको सन्देश दिएको एक सहभागीले बताए। छेउमै बसेका कांग्रेस नेता एवं सांसद बडूले प्रधानमन्त्रीले ‘को पूर्वमन्त्री ?’ भनेको र एकछिनमै ‘मलाई ख्याल नै भएन’ भनेको विषयमा कुनै प्रतिक्रिया दिएनन्।
जबकी प्रतिनिधिसभा निर्वाचनको प्रचार क्रममा २०७९ कात्तिक १८ गते दार्चुला सदरमुकाम पुगेका एमाले अध्यक्ष ओलीले खलंगाको आमसभामा बडूको नाम लिएका थिए। ‘दिलेन्द्रप्रसाद बडूजी कहाँ हुनुहुन्छ ? दार्चुलाको यो विशाल जनसभा हेरेपछि उहाँले यतातिर नआउँदा हुन्छ’ भन्दै उनले चुनावी प्रचारका बेलासमेत कांग्रेस नेताको नाम लिएका थिए।