काठमाडौं : भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र प्रचण्डपुत्री रेणु दाहाल र गंगा दाहालको दिल्लीको शेराटन होटलमा भेटघाट भएको छ । उनीहरुको भेटलाई लिएर कतै राजनीतिक अर्थ त लुकेको छैन ? यस्तो प्रश्न उठ्न थालेको छ ।
कतिपयले आरजूसँगको प्रचण्डपुत्रीको भेटलाई कांग्रेस–एमालेको गठबन्धन फुटाउने कडीका रुपमा समेत व्याख्या गर्न भ्याएका छन् ।
गत शुक्रबार मेयर रेणु र उनकी कान्छी बहिनी गंगा दाहाल दिल्ली गएका थिए । तीज आउन लागेको समयमा उनीहरु छोराछोरीलाई घुमाउन नितान्त व्यक्तिगत एवं पारिवारिक भ्रमणमा निस्केका थिए ।
छोराछोरी घुमाउन गएका दिदी-बहिनीको बास दिल्लीको शेराटन होटलमा थियो । त्यही क्रममा भारत भ्रमणमा पुगेकी परराष्ट्रमन्त्री आरजू राणा पनि आइतबार शेराटनमै बस्न पुगिन् । मन्त्री राणाको टोली भारत सरकारले आतिथ्यमा शेराटनमा बसेको हो । रेणु र गंगाको टोली भने आफ्नै खर्चमा होटल शेराटनमा बसेको स्रोतको भनाइ छ ।
एउटै होटलमा बस्दा सामान्य भेट हुनु स्वाभाविकै भए पनि यो भेट एउटा संयोगमात्रै भएको दाहाल निकट स्रोतको दाबी छ ।
प्रचण्डको सचिवालयका एक सदस्य भन्छन्, ‘माओवादीको ध्यान अहिले सरकारतिर छैन, संगठन विस्तार गर्ने हो, ०८४ को चुनावलाई ०६४ सालको जस्तै बनाउने हो । कांग्रेस एमाले गठबन्धन भत्काउनेतिर हाम्रो कुनै कोशिस छैन ।’