काठमाडौँ : नेकपा (एमाले) का नेता तथा सांसद तारा लामा तामाङले देश बनाउनको लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएको स्पष्ट पारेका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भने सरकारको विरुद्धमा बाहिरी शक्तिलाई पनि गुहारेको भन्दै लामाले गम्भीर टिप्पणी गरे ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले वर्तमान सरकारले देशलाई समृद्धिको दिशामा डोर्याएको र जनतामा आशाको किरण छर्न थालेपछि केही शक्तिहरू आत्तिएको र सरकारविरुद्ध तथानाम बोलेर हिँड्न थालेको टिप्पणी गरे ।
उनले भने,‘अहिले देश समृद्धितर्फ जाने देखेपछि, नेपालभित्रकै केही तप्का छटपटाएर तथानाम बोलेर हिँडिरहेको छ । यसलाई नेपाली जनताले चिर्नेछ । यसको बलमा केही बाहिरी शक्तिहरू पनि हुन सक्छन् । तर, हामीलाई जानकारी भएसम्म त्यस्तो केही पनि छैन । तर, पनि उहाँहरूले बाहिरी शक्तिहरूलाई गुहार्न खोजिरहेको जस्तो देखिन्छ । परराष्ट्रमन्त्रीज्यूको अस्तिको भारत भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी दलले यो सरकारको बारेमा विभिन्न टीकाटिप्पणी गरेको छ । यस्तो राष्ट्रियताको सवालमा, परराष्ट्रको सवालमा सत्तासँग गाँज्नु भनेको एउटा कमजोरी हो । यो एउटा अल्पसोच हो । जनताको आशा जागेको छ । देशमा अब केही हुन्छ है भन्ने आशा जागेको छ। हिजो मान्छे लगानी गर्न डराउँथे । आज साना तथा ठुला लगानीकर्ता जुरमुराएका छन् ।’
उनले कांग्रेस र एमालेबिचको सत्ता–सहकार्य पवित्र उद्देश्यसहित सुरुवात भएकोले यसले देशलाई निकास दिएको दाबी गरे ।