काठमाडौं: पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेताहरुको टोली र परराष्ट्र मन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणा भोलि सँगै धनगढी जाने भएका छन्।
सुरक्षा स्रोतका अनुसार उनीहरू भोलि बिहान ८ बजेको समयमा बुद्ध एयरको जहाजमार्फत काठमाडौंबाट धनगढी उड्ने भएका हुन्।
प्रचण्ड पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी हुन धनगढी जान लागेका हुन् भने आरजु गौरा पर्वमा सहभागी हुन जान लागेकी हुन्।
प्रचण्डसहित बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्धय अग्नि सापकोटा र पम्पा भुषाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणी पोखरेल, जनाद्र्धन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू पनि सहभागी हुने बताइएको छ।
उता आरजु पनि धनगढीमा दुई दिन बस्ने कार्यतालिका बनाइएको छ। उनले आफ्नो धनगढीस्थित निवासमा राखिएको गौरा देवीको समापन गर्ने कार्यक्रम छ।
यसैक्रममा केही समय अगाडि आरजुको निवास बाहिर बम राखिएको भन्दै हल्ला भएकोमा प्रहरीले सुरक्षा व्यवस्था बढाएको छ। जसक्रममा प्रहरीले आजमात्रै केही व्यक्तिहरुलाइ नियन्त्रणमा लिएको छ।
आरजुको विरुद्धमा फेसबुकमा स्टाटस लेखेको भन्दै प्रहरीले धनगढी उपमहानगरपालिकाका मेयरसमेत रहेका गोपाल हमाल (गोपी) का कार्यकर्ता मानिने प्रतीक जोशी र राजावादी रचित शाहलाई प्रहरीले समातेको हो।
कैलाली प्रहरीले उनीहरूलाई सोधपुछ गर्नका लागि नियन्त्रणमा लिएको बताएपनी स्टाटस लेखेकैमा उनीहरू समातिएका हुन्। उनीहरूले आरजुको आगमनमा विरोध जनाउने भन्दै स्टाटस लेखेका थिए।
त्यस्तै कैलाली प्रहरीले नेकपा बहुमत निकट ६ जनालाई पनि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयको आदेशअनुसार इलाका प्रहरी कार्यालय मालाखेतीले ६ जनालाई पक्राउ गरेको हो।
उनीहरुलाई अत्तरियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। नेता प्रकाश रावल, संघर्षसहितका नेताहरुलाई प्रहरीले समातेको हो।
सुरक्षा व्यवस्थाको कारण उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीको दाबी छ भने उनीहरूको पार्टीले बिनाकारण प्रहरीले दु:ख दिने नियतले समातेको जनाएको छ।