धनगढी : परराष्ट्र मन्त्री आरजु राणा देउवाले कैलालीको भारतसँग सिमाना जोडिएको गौरीफन्टा नाका र फाप्ला क्रिकेट मैदानका बारेमा भारतीय प्रधानमन्त्रीसँग कुराकानी भएको बताएकी छन् ।
आज कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को वडा कार्यालय भवन उद्घाटन गर्दै राणाले गौरीफन्टा नाका र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको विषयमा भारतका प्रधानमन्त्री सकारात्मक रहेको बताएकी हुन्।
उनले भारतका प्रधानमन्त्री मोदीसँग सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको धनगढी–गौरीफन्टा नाकाको स्तरोन्नति गरिदिन र धनगढीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइदिन अनुरोध गरेको बताइन्। ‘मैले सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको गौरीफन्टा नाकाको स्तरोन्नीका लागि भारतीय प्रधानमन्त्रीसँग कुराकानी गरेको छु।‘ देउवाले भनिन् ।
उनले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई धनगढी–गौरीफन्टा नाकाको महत्वका बारेमा लेखेर पठाउन निर्देशन दिएको समेत बताइन् । ‘नाकाको उपादेयताका बारेमा लेख्न भनेको छु। यस नाकाले नेपाल र भारतको व्यापार व्यवसायमा हुने बढोत्तरीका बारेमा पनि लेख्न भनेकी छु। त्यो सबै कुरा भारतलाई लिखित रुपमा बुझाउन भनेको छ ‘ देउवाले भनिन् ।
परराष्ट्र मन्त्री भएपछि देउवा पहिलो पटक गृह नगर धनगढी आएकी हुन । मन्त्री राणा धनगढी स्थित आफ्नो घरमा गौरा विसर्जनका लागि आएकी हुन् । आरुले हरेक वर्ष धनगढी स्थित आफ्नो निवासमा हरेक वर्ष गौरा पर्व मनाउँदै आएकी छन् ।
विमानस्थलबाट आफ्नो निवास पुगेकी देउवाले गौरा देवीको दर्शन गर्नुका साथै पूजा अर्चना गरि गौरा विसर्जन गरेकी छिन् ।