धनगढी : पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी हुन धनगढी आएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वागत फितलो देखिएको छ ।
परराष्ट्रमन्त्री आरजु राणासंगै एउटै प्लेनमा आएका प्रचण्डको स्वागतमा सुरक्षा निकाय र पार्टी प्रदेश कमिटीले लापरबाही गरेको देखिएको हो ।
विमानस्थलमा प्रचण्डको लागि तयार गरिएको गाडीमा मन्त्री राणालाई बसाईयो भने पार्टीको बैठकमा ढाड दुख्ने कुर्सी राखियो ।
एयरपोर्टमा झरेपछि परराष्ट्र मन्त्री देउवालाई भीआईपी कक्षबाट सुरुमै बाहिर ल्याइयो । त्यसपछि प्रचण्डलाई ल्याइयो । बाहिर प्रचण्ड र देउवाको लागि छुट्टाछुट्टै गाडी राखिएको थियो । हतारिएको प्रहरीले प्रचण्डको लागि राखिएको गाडीमा देउवालाई बसायो । अक्क नबक्क भएको प्रहरीले पछि मात्रै थाहा पाएर मन्त्री देउवालाई त्यो गाडीबाट ओरालेर अर्को गाडीमा बसायो ।
यसैबिच भीड व्यवस्थापनमा रहेको प्रहरी प्रशासन चुकेको पाइएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रसहित जिल्लाका सुरक्षा निकाय प्रमुखहरुको उपस्थित रहेको स्थानमा प्रहरीले भीड व्यवस्थापन तथा भीआईपीहरुलाई उचित स्थानमा (आ–आफ्नो गाडी)मा लैजान केही चुकेको देखिएको हाे ।
यस्तै पार्टीको प्रदेश परामर्श बैठकमा प्रचण्डलाई कार्यक्रममा असजिलो कुर्सी परेको छ । कार्यक्रम सुरु हुनुभन्दा केही बेर अघिसम्म पनि उनी त्यही असजिलो कुर्सीमा सकस मानिमानी बसेका थिए ।
केही बेरपछि सहभागीहरूले अध्यक्षलाई अफ्ठेरो कुर्सी परेको बताए । ‘मेरो अध्यक्षलाई अफ्ठेरो गाह्रो भने होला’ प्रचण्डले मुस्कुराउँदै भने ।
प्रचण्डले आफूलाई अफ्ठेरो परको आशय व्यक्त गरेपछि तुरुन्त उनको कुर्सी फेरिएको थियो । कुर्ची फेरेपछि प्रचण्डले सहजता महसुस गरे । त्यसपछि कार्यक्रम सुरु भएको थियो ।
पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी प्रचण्ड सहित पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू सहभागी भएका छन् ।