धनगढी : १७ माघ २०७८ मा शिलान्यास गरिएको धनगढी उप–महानगरपालिका– ४ को वडा भवनको उद्घाटन बुधवार परराष्ट्र मन्त्री आरजु राणा देउवाले गरिन् । शिलालेख अनावरण र रिबन काटेर मन्त्री देउवाले वडा कार्यालयको उद्घाटन गरेकी हुन् ।
कार्यक्रममा कैलाली ५ का सङ्घीय सांसद, प्रदेशका मन्त्री, पूर्वमन्त्री, प्रदेश सभा सदस्य, नगरप्रमुख, उप–प्रमुख सहितको सहभागिता थियो । भवन निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने निवर्तमान वडाध्यक्षलगायत तत्कालीन जनप्रतिनिधिहरूलाई भने खबर नगरिएको आरोप लागेको छ । उद्घाटनमा नबोलाएपछि निवर्तमान वडाध्यक्ष दीपक थापाले शुक्रवार पत्रकार सम्मेलनको आयोजनागरी आक्रोश पोखे ।
वर्तमान वडाध्यक्ष बुद्धि खड्काले भवन शिलान्यासको शिलालेख नराखेको भन्दै उनले आपत्ति जनाएका हुन् । ‘वडा भवन कार्यक्रममा शिलान्यास शिलालेख नराखेरै उद्घाटन गरिनु निकै दुखद् हो । हामीले २०७८ सालमै २० हजार खर्च गरेर शिलालेख तयार गरेका थियौँ । तर, अहिलेका अध्यक्ष खड्काले त्यो बोर्डको बेवास्ता गर्दै भवन उद्घाटन गरे । इतिहास मेटेर मेटिँदैन, ‘थापाले भने ।
भवन उद्घाटनमा शिलान्यास बोर्ड नराखिदिएपछि निर्वतमान अध्यक्ष थापाले त्यो बोर्डसमेत पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका छन् । शिलालेख बोर्ड देखाउँदै थापाले भने, ‘यो बोर्ड हामीले १७ माघ २०७८ मा उद्घाटन गरेका थियौँ । भवन निर्माण हुने क्रममा थियो । त्यहाँ बोर्ड राख्ने ठाउँ थिएन । त्यसैले हामीले राख्न पाएनौँ । पछि हाम्रो कार्यकाल सकियो ।
वृद्धि खड्का वडाध्यक्षमा निर्वाचित भए । उनले उद्घाटनको बेला हामीलाई खबरसम्म गरेनन् । यदि उनीसँग राजनीतिक संस्कार हुन्थ्यो भने निवर्तमान जनप्रतिनिधि मेयर, उपमेयर र वडाध्यक्षलाई खबर गर्नुपर्थ्यो तर, त्यस्तो भएन । उद्घाटन कार्यक्रममा कम्तीमा शिलान्यास बोर्ड त राख्नुपर्थ्यो । नगरपालिकाबाट भुक्तानी सम्पन्न भइसकेको बोर्ड वडा कार्यालयमा नराखेपछि मैले यहाँ ल्याएको छु । अब मेरो होटेलमा राख्छु कम्तीमा आउने मान्छेले त हेर्छ,’ थापाले भने ।
वडा नम्बर ४ का वडाध्यक्ष वृद्धि खड्काले भने शिलान्यास बोर्डका विषयमा आफू बेखबर रहेको दाबी गरे ।