काठमाडौं : सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी प्रमुखको जिब्रो थुत्नुपर्ने बताएका छन् । सङ्घीय प्रहरी ऐन लागू गर्दिनँ भनेर प्रहरी प्रमुखले भनेको भन्दै उनको जिब्रो थुत्नुपर्ने गुरुङको भनाई छ ।
‘मैले यहाँ हुँदा (मुख्यमन्त्री हुँदा) आफ्नो प्रहरी र कर्मचारी प्रशासन नभएको सरकार सरकार नै हुँदो रहेनछ । यो व्यवहारले पुष्टि भैसकेको छ,’ उनले भने, ‘यो वर्ष सङ्घीय निजामती ऐन र सङ्घीय प्रहरी ऐन लन्च गर्ने तयारी छ । त्यसलाई अवरोध गर्ने त्यही सेक्टरको मान्छेबाट भइरहेको छ । अहिले प्रहरीको आइजीपीले के भन्यो, म यो कानुन लागू नै गर्दिनँ, हुँ भन्छ । त्यस्तो बोल्न पाउने कि नपाउने ? त्यसको जिब्रो थुत्नुपर्थ्यो मैले भन्दाखेरि । उसले त्यसरी बोल्न पाउँदैन नि ।’
उनले निजामती ऐनमा समेत सबैभन्दा बढी कर्मचारीबाटै ‘डिवेट’ भइरहेको बताए । अर्को प्रसङ्गमा गुरुङले देशैभर नयाँ समीकरणको सरकार बनिसकेको अवस्थामा गण्डकीमा ‘हाडीगाउँको जात्रा’ भइरहेको टिप्पणी गरेका छन् ।
‘कहीँ नभएको जात्रा हाडीगाउँमा भन्थे, अहिले कहीँ नभएको जात्रा गण्डकीमा भइरहेको छ । माथि समीकरण फेरिए पछि तल पनि फेरिनुपर्छ,’ उनले भने, ‘मुख्यमन्त्रीले दुःखमा साथ दिएको भएर मन्त्री राखिराख्छु भन्नलाई उहाँको निजी शासन हो र ? प्राइभेट कम्पनी चलाएको त होइन होला नि । उहाँले अराजनीतिक काम गर्नुभएको छ ।’