काठमाडौं: सुदूरपश्चिम र सुदूरपश्चिमेलीको बारेमा भ्रम छर्ने युवती दुर्गा दाहाल साउदविरुद्ध प्रहरीमा जाहेरी परेको छ। सुदूरपश्चिमको दार्चुला घर भएका अधिवक्ता कृष्ण महराले साउदविरुद्ध प्रहरीमा जाहेरी दिएका हुन्।
पाटन उच्च अदालत बार एसोसिएसनको सदस्यसमेत रहेका महराले बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएको जानकारी दिएका छन्।
अमेरिकामा घटेको एउटा घटनालाई लिएर ती साउदले सामाजिक सञ्जालमा सिङ्गो सुदूरपश्चिमबासीलाई बदनामित गराउने काम गराइरहेकी थिइन्।
उनले सुदूरपश्चिमका मान्छेहरु सबैको चरित्र खराब हुने भन्दै प्रचार गर्थिन्। उनले गरेको कुप्रचारका विरुद्ध उनलाई कारबाहीको माग गर्दै अधिवक्ता महराले मुद्दा हालेका हुन्।
सुदूरपश्चिमको कञ्चनपुर घर बताउने दुर्गाले ‘सुदूरपश्चिमका मान्छेहरु रक्सी खाएर हिँड्ने, रक्सी भनेपछि धेरै खाने, कसले बढी केटी ल्याउने, कसका बढी गर्लफ्रेण्ड हुने, कसले बढी रक्सी खाने कम्पिटिशन हुन्छ’ भन्दै टिकटकमा भिडियो पोष्ट गरेकी थिइन्। उनले उक्त भिडियोमा सुदूरपश्चिममा छोरी बिहे गरेर दिनु भनेको नर्कमा पठाउनु सरह हो समेत भनेकी छिन्।
उनको पोष्टमा विरोध भएपछि उनले सुदूरपश्चिमका युवतीहरु भारतस्थित दिल्लीको जिबी रोडमा भेटिने भन्दै कमेन्ट समेत गरेकी थिइन्। उनको अभिव्यक्तिको चौतर्फी आलोचना गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनीमाथि गालीको वर्षा गर्दै आएका छन्।
विद्युतीय कारोबार ऐन अन्तर्गत अपराध गरेको भन्दै दुर्गालाई तुरुन्त पक्राउ गरी अनुसन्धान गर्न जाहेरीमा उल्लेख गरिएको छ।
अमेरिकामा घटेको ममता काफ्ले प्रकरणको प्रसंगलाई लिएर सुदूरपश्चिमबासीमाथि गायिकासमेत रहेकी दुर्गाले जथाभावी आरोप लगाएकी थिइन्।