धनगढीः कैलालीमा तीजको राति सवारी दुर्घटनामा ९ जना घाइते भएका छन् । हिजो (शुक्रबार) मात्र तीन महिलासहित ९ जना घाइते भएका छन्।
धनगढी उपमहानगरपालिका–३ बोराडाँडी चोक नजिकै स्कारपियो र पिकअप बोलेरो जिप बाटो क्रस गर्ने समयमा एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। स्कारपियोमा सवार गोदावरी नगरपालिका–५ की ४१ वर्षीया एक महिला घाइते नै भएकी छन्। उनको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ।
त्यस्तै धनगढी उपमहानगरपालिका–१ खुलामञ्च नजिकै जेसीबीले स्कुटीलाई ठक्कर दिँदा स्कुटी पछाडी सवार धनगढी–१ कै १७ वर्षीय एक किशोर घाइते भएका छन्।
उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ।
उता गोदावरी नगरपालिका–४ स्थित भीमदत्त राजमार्ग अत्तरियाबाट गोदावरीतर्फ जाँदै गरेको मोटरसाइकललले ठक्कर दिँदा सोही स्थानका २ महिला घाइते भएका छन्।
घाइते दुबै जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।
यस्तै शुक्रबार राति मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका–५ जाईका २८ वर्षीय संजय चौधरीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) कबिन्द्रबहादुर बोहराका अनुसार अत्तरियास्थित विद्युत कार्यालय नजिकै चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००८ प ९९९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो।