काठमाडौं: प्रहरीको सई बनेर विभिन्न १६ जिल्लामा ठगी गर्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिका–६ का २७ वर्षीय विकास बिसी र बाँके राप्ती सोनारी गाउँपालिका–७, बाँके घर भई हाल लालपुर बस्दै आएका ३६ वर्षीय लोकबहादुर खाँण छन्।
आफूहरु प्रहरीको सई भएको बताउँदै विभिन्न ठाउँमा ठगी गरेको सूचनाका आधारमा प्रहरीले सुरुमा बिसी र त्यसपपछि खाणलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। विभिन्न मुद्दा मिलाउने भन्दै ठगी गरेको खुलेको प्रहरीले जानकारी दिएको छ।
लोकबहादुरले १६ जिल्लाका १८ जना व्यक्तिलाई नक्कली सई बनेर ठगी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सुनिल दाहालले बताए। हालसम्मको अनुसन्धानबाट विभिन्न जिल्लाका १८ जना व्यक्तिहरूबाट मुद्दा मिलाई दिन्छु भन्दै ५ लाख ६ हजार ५३५ रुपैयाँ ठगी गरेको खुल्न आएको उनले बताए।
उनीहरूलाई दैलेख जिल्ला अदालतबाट म्याद थप अनुमति लिई हिरासतमा रोखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।