काठमाडौं: नेकपा एमालेका पोलिटव्युरो सदस्यसमेत रहेका नेता महेश बस्नेतविरुद्धको मुद्दा खारेज गरिदिएको छ। बस्नेतविरुद्ध शाेभा पाठकले हालेको मुद्दा उच्च अदालत पाटनले खारेज गरिदिएको हो।
यस अघि जिल्ला अदालत काठमाडौंमा हालेको मुद्दा पनि खारेज भएपछि ती महिलाले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन्।
दायर रिटमा सुनुवाई गर्दै न्यायाधीश ऋषि राजभण्डारी र खडानन्द तिवारीको संयुक्त इजलाशले खारेज गर्ने निर्णय गरेको उच्च अदालत पाटनका रजिष्ट्रार श्रीलाल पौडेलले जानकारी दिए।
एमाले नेता बस्नेतविरुद्ध ति महिलाले बलात्कार, भ्रुण हत्या तथा डकैतीको आरोप लगाउँदै मुद्दा हालेकी थिइन्।
ती महिलाले बस्नेतबाहेक अरु केही पुरुषलाई पनि ब्ल्याकमेल गरेर दु:ख दिएको र बिहे गर्दै अंश मुद्दा हाल्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो। बस्नेतमाथि उनले लगाएका आरोप पुष्टि निराधार भएको बताइन्छ।