धनगढीः कैलाली कारागारभित्र एक कैदीबन्दीको रहस्यमय मृत्यु भएको छ। हिजो (सोमबार) जिल्लाको घोडाघोडी नगरपालिका–७ का २२ वर्षीय दिपक विकको मृत्यु भएको हो।
उनी जरबजस्ती करणीमा दोषी ठहर भएर कारागार चलान भएका थिए। तर उनको कारागारभित्रै रहस्यमय रुपमा मृत्यु भएको जनाइएको छ।
प्रहरीले शौचालयमा ढलेर उनको मृत्यु भएको दाबी गरे पनि विकलाई कुटीकुटी मारेको आरोप लागेको छ।
कारागारभित्रकै एक समूहले विकको कुटीकुटी हत्या गरेको आरोप लागेको हो। जिल्ला कारागारभित्र कैदीजीवन विताइरहेका एक कैदीका अनुसार जेलमा पनि गुण्डाराज छ।
कारागारका कैदीबन्दीका अनुसार कैलाली जेलमा खुलमखुला मोबाइल चलाउनेदेखि भित्रै रक्सी समेत सेवन गर्ने गतिविधि पनि हुने गरेका छन्।
सोही क्रममा जेल कैदीबन्दीको प्रशासन हेर्नेले खाना नराम्रो भयो भन्ने उजुरी गरेपछि विकलाई करिब १९ जनाको समूहले कुटपिट गरी मारेको आरोप लागेको हो। कुटपिट गरेर केही अन्य मान्छे घाइते समेत भएका छन्।
त्यहाँ रावल समूहले आतंक मच्चाएको बुझिएको हो। जसमा प्रहरी र सिडिओसम्मै सेटिङ हुने गरेको बताइन्छ।