काठमाडौं: तीन वर्षअघि उद्घाटित धरहरा भोलिदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ। सरकारले संविधान दिवसको अवसर पारेर धरहरा खुला गर्न लागेको जनाएको छ।
पुनर्निर्माण सम्पन्न नहुँदै ०७८ बैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए। तर, अहिले पनि पूर्णतः निर्माण सम्पन्न भइसकेको छैन। अझै पाँच प्रतिशत काम बाँकी रहेको धरहरा खुलाउने निर्णय प्रधानमन्त्री ओलीले भदौ २७ गतेको क्याबिनेट बैठकबाट गराएका हुन्।
पुननिर्माण प्राधिकरणले निर्माण शुरु गरेको यस आयोजनालाई अहिले शहरी विकास मन्त्रालयअन्तर्गत भवन निर्माण विभागले हेरिरहेको छ। विभागका अनुसार भोलिदेखि दैनिक पाँच सय नागरिकले धरहराको अवलोकन गर्न सक्नेछन्।
केही समय प्रवेश निःशुल्क गरिने र बिस्तारै डिजिटल एपमार्फत् टिकट काट्ने व्यवस्था गरिने बताइएको छ। २२ तलाको धरहरामा जमिन मुनिका तीन तलासम्म पार्किङको व्यवस्था छ।
धरहरा परियोजनाको लागि शुरुमा सरकारले तीन अर्ब ४५ करोडको बजेट विनियोजन गरेको थियो। तर, कोभिड महामारीको कारण निर्माण प्रभावित भएपछि २०७८ मा पुनः दुई अर्ब थपिएको थियो।
यस्तै काठमाडौंको दरबारमार्ग क्षेत्रमा आज र भोलि सवारी साधन चलाउन रोक लगाइएको छ। भोलि राति ८ बजेसम्मका लागि सवारी साधन चलाउन निषेध गरिएको जनाइएको छ।
संविधान दिवसको अवसरमा दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’ कार्यक्रम हुन लागेकाले सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
जसअनुसार केशरमहलबाट दक्षिण गेटतर्फ जाने सवारी साधनलाई जमल, जयनेपाल चोकबाट दक्षिण गेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटी, महेन्द्र शालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारी साधनलाई घण्टाघरतर्फ जाने व्यवस्था मिलाइएको छ।