काठमाडौं: नेपाल प्रहरीमा बढुवा समितिको अंकभार आधा घटाइने भएको छ। नयाँ प्रहरी ऐनको मस्यौदामा समितिको अंकभार आधा कटौती गर्ने तयारी गरिएको हो।
समितिले दिन पाउने ७.५ अंकबाट घटाएर ३ मा सीमित गर्न लागिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयका उच्च अधिकृतहरुसँग हेडक्वार्टरमा लामो छलफलपछि प्रहरी ऐनको केही प्रावधानहरु टुंगो लगाइएको जनाइएको छ।
गृह स्रोतका अनुसार, मस्यौदामा उल्लेख भएअनुसारका प्रावधान लागू भए सबैभन्दा बढी कार्य सम्पादन मूल्यांकन वापत ५२ अंक प्राप्त हुनेछ। ज्येष्ठता वापत २५, शैक्षिक योग्यतावापत ५, तालिम वापत १० र चुनौतिवापत ५ अंक दिइनेछ।
मस्यौदामा शैक्षिक योग्यता वापत दिइने अंक घटाइएको छ भने कठिन भौगोलिक क्षेत्रमा काम गरे वापत पाइने अंक हटेको छ।
सर्वोच्च अदालतमा प्रहरी अधिकृतहरुले दायर गरेको एउटा मुद्दामा बढुवा समितिले दिने अंक स्वच्छाचारी अंक नभएको भन्दै कार्यसम्पादनकै आधारमा दिनुपर्ने भनेको थियो।
प्रहरी नियमावलीमा एसएसपी र डीआईजी बढुवाका लागि गृह मन्त्रालयका सचिव अध्यक्ष रहने बढुवा समितिको व्यवस्था छ। यसमा प्रहरी महानिरीक्षक सदस्य र प्रहरी महानिरीक्षकले तोकेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सदस्य सचिव हुने भनिएको छ।
एसपी, डीएसपी तथा इन्स्पेक्टरका लागि भने प्रहरी महानिरीक्षकको अध्यक्षतामा गृह मन्त्रालयका सहसचिव र आईजीपीले तोकेका डीआईजी वा एआईजी सदस्य रहने बढुवा समितिको व्यवस्था छ।