काठमाडौं: नेपाल प्रहरीका डिआईजी लालमणी आचार्यलाई मालदार प्रदेशको कमाण्ड दिइएपछि विरोध भएको छ। प्रहरीभित्र कमजोर कमाण्ड भएकालाई गृहमन्त्री रमेश लेखकले सेटिङमा मधेस पठाएको भन्दै विरोध सुरु भएको हो।
केही समय अगाडि गृहमन्त्री लेखकले आचार्यलाई मधेस प्रदेशको कमाण्ड दिएर पठाएका थिए। जबकी त्यसभन्दा अगाडि उनै आचार्य कर्णाली प्रदेशमा रहँदा कमजोर कार्यसम्पादन भएको भन्दै उनी तानिएका थिए।
उनलाई अहिले मधेस प्रदेशको जिम्मेवारी दिएपछि प्रश्न उठेको हो। गत पुसमा कर्णाली पुगेका उनी केही महिनामै फिर्ता भएका थिए।
त्यसबेला उनलाई त्यहाँबाट ल्याएर नेपाल प्रहरी शिक्षालय, भरतपुरमा सरुवा गरिएकोमा अहिले मधेस पठाइएको हो।
उसो त डिआइजी आचार्यले लगातार तीन कमाण्ड पाएका छन्। जबकी त्यो प्रहरी ऐनअनुरुप पनि मिल्दैन।
खासगरी मधेसमा ठूलो तस्करीको सञ्जाल छ। उनलाई मधेस पठाउनुअघिका डिआईजी पनि सोही तस्करीकै कारण तानिएका हुन्। मधेसमा कार्यरत डिआइजी यज्ञविनोद पोखरेलले तस्करबाट रकम लिएको आरोपपछि उनलाई कारबाहीस्वरुप तानेर आचार्य मधेस पठाइएका हुन्।