काठमाडौं: संविधान दिवसको अवसरमा अहिले दरबारमार्गस्थित नारायणहिटी गेटमा ‘नेशनल डे कन्सर्ट’ सुरु हुँदैछ। त्यहाँ लफडा हुने देखिएपछि सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
कन्सर्टमा सहभागी हुने विशिष्ट व्यक्ति, कलाकार र सर्वसाधारणको सुरक्षा प्रबन्ध मिलाउन नेपाल प्रहरी र सशस्त्रका करिब चार हजार फौज सडकमा तैनाथ गरिएको छ। काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले सादा पोशाकका सुरक्षाकर्मी पनि खटाइएको जानकारी दिए।
संविधानविरोधी शक्तिहरु कन्सर्ट बिथोल्ने योजनामा रहेको सुईंको पाएपछि प्रहरीले हिजैदेखि सो क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको बताइन्छ।
अपरान्ह ४ बजेबाट शुरु हुने कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च पदस्थहरु सहभागी हुँदैछन्।
कन्सर्टमा गायक प्रमोद खरेल, सुगम पोखरेल, कुन्ति मोक्तान, स्वप्न सुमनलगायतका राष्ट्रिय कलाकारले प्रस्तुति दिनेछन्। त्यस्तै, दी एलिमेन्ट ब्याण्ड र कुटुम्बको पनि प्रस्तुति रहने बताइएको छ।