धनगढी: धनगढीको एक फर्मेसीबाट प्रतिबन्धित औषधीसहित सञ्चालक पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–२ बैयावेहडी चोकमा कञ्चनपुरको वेदकोट नगरपालिका–५ बस्ने २३ वर्षीय दिपकराज जोशीले सञ्चालन गरेको केयर फस्ट फर्मेसीबाट प्रतिबन्धित औषधी ट्रामाडोल २१ ट्याब्लेट बिक्रि वितरण गरीरहेको अवस्थामा फेला पारी सञ्चालन जोशीलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ।
यस्तै सोमबार कैलालीमै लागुऔषधसहित एक जना पसल सञ्चालक पनि पक्राउ परेका थिए।
जिल्लाको गौरीगंगा नगरपालिका–८ बडैपुरस्थित मष्टा एग्रो प्रोडक्सन एण्ड सप्लायर्सका पसल सञ्चालक बझाङको केदारेश्वर गाउँपालिका–६ थापागाउँ घर भएका ३१ वर्षीय डम्बरबहादुर गुरधामी लागूऔषधसहित पक्राउ परेका हुन्।
उनलाई ५३ ग्राम ८ सय १० मिलिग्राम लागुऔषधिसहित सोमबार दिउँसो इलाका प्रहरी कार्यायल मसुरियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। अहिले दुबै घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ।