धनगढी: कञ्चनपुरमा नेपाल प्रहरीका एक इन्सपेक्टरसहितका कर्मचारीहरु कुटिएका छन्। हिजो (बुधबार) जिल्लाको पुनर्वास क्षेत्रमा त्यहाँका प्रहरी इन्चार्ज इन्सपेक्टरसहितका गस्तीका प्रहरी कुटिएका हुन्।
स्रोतका अनुसार गस्तीमा गएको इन्सपेक्टर महेशविक्रम शाहीको टोली र खडखडे खेल्ने टोलीबीच विवाद भएपछि घटना घटेको हो। घटनाका क्रममा नेपाल प्रहरीको भ्यान पनि तोडफोड गरिएको र शाहीसहित ५ जनालाई आक्रमणबाट सामान्य चोट लागेको बताइएको छ।
रातको करिब ९ बजेको समयमा पुनर्वास नगरपालिका–७, च–गाउँमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका इन्चार्ज एवं ईन्स्पेक्टर शाहीसहितको टोली गस्तीमा थियो।
९ जनाको प्रहरी गस्ती टोलीलाई खडखडे खेल्ने समूहले आक्रमण गरेको हो।पुनर्वास नगरपालिका–७, बुद्धबस्तीमा खडखडे खेलिरहेको समूहलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा विवाद उत्पन्न भएको थियो।
त्यसपछि सोही खडखडे टोलीका करिव २ दर्जन मानिसले प्रहरीलाई हात हालेका थिए।
सो घटनापछि स्थिति झन आक्रामक भएपछि प्रहरी व्याक भएर उपचारमा गएको थियो। स्रोतका अनुसार प्रहरीको उपचार पुनर्वास नगरपालिका–६ स्थित टाउन हस्पिटलमा गरिएको छ।
यस्तै अहिले प्रहरीले आक्रमणकारीलाई खोजिरहेको र पक्राउ गरेर कारबाही गरिने जनाएको छ। पुनर्वासमा इन्सपेक्टर शाही हालै सरुवा भएर आएका हुन्।