धनगढीः प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवामा केही बदनाम र असक्षमहरुलाई महत्वपूर्ण जिम्मेवारी दिइएको भन्दै आलोचना भएको छ। पर्वत जिल्लामा विवादास्पद डिएसपी रबिन बिष्टलाई पठाइएको छ। डिएसपी बिष्ट एक वर्षअघि बालाजु वृत्तको डिएसपी हुँदा बालाजुमा लुटपाट आतंक मच्चिएको थियो। प्रहरीको कमजोर कमाण्डका कारण बालाजु क्षेत्र राज्यको नियन्त्रण बाहिर पुगेको थियो।
डिएसपी बिष्टको गाडीसमेत आन्दोलनकारीले जलाइदिएका थिए। जून घटनामा उनलाई त्यहाँबाट हटाएर कारबाही गरिएको थियो। तिनै डिएसपीलाई पर्वत जिल्लाको इन्चार्जमा खटाइएपछि आलोचना भएको छ। इन्सपेक्टरमा रुपन्देही हुँदा त उनले नेटवर्किङ कारोबारीसँग पैसा नै लिएको पुष्टि भएको थियो।
जसमा उनलाई समेत मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालयले सिफारिस गरेकोमा उनले चलखेल गरेर सरकारी वकिल कार्यालयमार्फत मुद्दा नचलाउने निर्णय गराएर जागिर जोगाएका थिए।
अन्य स्थानमा पनि विवादित एसपी तथा डिएसपीलाई आकर्षक इन्चार्ज दिइएको छ। डडेल्धुराको जिम्मेवारी पाएका डिएसपी सुगन्ध श्रेष्ठ पनि यसअघि कारबाहीमा परेका थिए। संयुक्त राष्ट्रसंघको शान्ति मिसन (यूनएन मिसन) मा जान प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र ‘लिक’ प्रकरणमा उनी मुछिएका थिए। श्रेष्ठलाई नसिहत दिइएको थियो।
यस्तै धनुषामा कार्यरत रहँदा सिंगो प्रहरी संगठनकै बदनाम गराएका एसपी विश्वराज खड्काले पनि एक वर्ष नपुग्दै अर्को आकर्षक इन्चार्ज पाएका छन्। प्रहरी प्रधान कार्यालयले उनलाई मकवानपुरको प्रहरी प्रमुखको रुपमा सरुवा गरेको छ।
धनुषामा आरती साह हत्या घटनाको अनुसन्धानमा उनले चरम लापरबाही गर्ने मात्र होइन पीडित पक्षलाई कुटपिट समेत गरेका थिए। जसमा प्रहरीकै छानविन समितिले समेत उनलाई दोषी देखाएको थियो भने संसदको महिला तथा सामाजिक मामिला समितिले उनलाई निलम्बन नै गर्न सिफारिस गरेको थियो।
एसपी खड्काकै लापरबाहीका कारण पीडितका परिवार महिनौं काठमाडौं आएर न्यायका लागि धर्ना बसे। सरकारकै लागि त्यो ठूलो समस्याको विषय बन्न पुगेको थियो।
विभिन्न छानविन समितिले कारबाहीको सिफारिस गर्दा पनि उनी जोगिएका थिए।
यस्तै, प्रहरी प्रधान कार्यालयले गरेको एसपी र डिएसपीको सरुवा नै विवादित बनेको छ। प्रहरीका निमित्त महानिरीक्षक टेकप्रसाद राईलाई समेत सो सरुवाबारे बेखबर रहेको पाइएको छ।
उनले यस विषयमा सार्वजनिक रूपमै समेत असन्तुष्टि जनाएका छन्। सरुवामा कांग्रेस निकट र बदनाम अधिकृतहरूले महत्वपूर्ण जिल्लाको इन्चार्ज पाएका छन्।