काठमाडौं: विवादित प्रहरी इन्सपेक्टर बिनुकुमारी शाही निलम्बन सिफारिस भएपछि मुद्दा चलाउने तयारीसमेत थालिएको छ। प्रहरी प्रभाग भैँसेपाटीकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) शाहीमाथि प्रहरीले नै मुद्दा चलाउने तयारी गरेको हो।
उनीमाथि ‘हनी ट्रयाप’ गिरोहसँग मिलेमतो गरेर एक युवाबाट ३० लाख रुपैयाँ असुल गरेको आरोप छ। सो आरोपपछि शाहीको जिम्मेवारी खोसिएको छ भने निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरिएको छ।
शाहीकै योजनामा एक जग्गा व्यवसायीलाई बलात्कारको मुद्दा चलाउने भन्दै ३० लाख असुल गरेको खुलेपछि उनीमाथि समेत ललितपुर प्रहरीले मुद्दा चलाउने तयारी गरेको हो।
उपत्यका प्रहरी कार्यालय स्रोतका अनुसार इन्स्पेक्टर शाहीमाथि मुद्दा नै चलाउनुपर्ने केही आधार देखिएका छन्। थप प्रमाण भेटिए मुद्दा चल्ने स्रोतको भनाई छ।
ललितपुर प्रहरीले शाहीको मोबाइल नियन्त्रणमा लिएको छ। ललितपुर प्रहरीको नियन्त्रणमा रहेका अर्का हनिट्र्यापर युवा ताज स्लामको मोबाइल ‘आइफोन १४ प्रो म्यास’ भने गायब छ। प्रहरी स्रोतका अनुसार प्रहरी निरीक्षक शाहीले नै ताजको मोबाइल गायब पारेकी हुन्।
शाही ललितपुर प्रहरी कार्यालयमा तानिएपछि ताजको मोबाइल नै गायब भएको हो। प्रहरी स्रोतका अनुसार इन्स्पेक्टर शाहीले आफू र ताजबीच भएको कुराकानी प्रमाणको रूपमा हुने भएकाले गायब पारेकी हुन्।
शाहीले आफू र ताजबीच मोबाइलको म्यासेजमा भएको कुराकानी समेत हटाएकी छन्।
यस्तै ललितपुर प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा ‘हनी ट्रयाप’को योजना इटहरीमा असफल भएपछि भैँसेपाटी पुगेको खुलेको छ। युवाबाट इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी नै प्रयोग गरेर रकम असुल्ने योजना असफल भएको थियो।
प्रहरी स्रोतका अनुसार ललितपुरका जग्गा व्यवसायी केही समयअघि इटहरी पुगेका थिए। त्यही बेला हाल ललितपुर प्रहरीको थुनामा रहेकी युवती सुस्मा विकसँग इटहरी र इलाम घुमफिर गरे। घुमफिरका साथै होटेलमा सँगै बसे। त्यसपछि युवा ललितपुर फर्किए।
सुस्मा र युवाबीच फोनमा सम्पर्क भइरहन्थ्यो। सुस्माले युवा पैसावाल व्यवसायी भएको थाहा पाइसकेकी थिइन्। युवा करिब पाँच करोड पर्ने ल्यानड रोभर प्राडो चढ्थे। त्यही कुरा सुस्माले आफू निकट युवा दर्शन पोखरेललाई ‘सेयर’ गरिन्।
दर्शन र सुस्मा दाजु–बहिनीका रूपमा असाध्यै मिल्थे। सुस्माको कुरा सुनेपछि दर्शनले व्यवसायीबाट रकम असुल्ने योजना बनाए।
त्यसका लागि उनीहरू इलाका प्रहरी कार्यालय इटहरी समेत पुगे। तर, त्यहाँ उनीहरूले सोचेजस्तो युवाबाट रकम असुल्न नसकिने निष्कर्ष निकाले।
त्यही कुरा दर्शनले ताजलाई सुनाए। उनीहरूबीच पूरानो चिनजान थियो। ताज भैँसेपाटी र व्यवसायी युवा समेत ललितपुर बस्ने भएकाले ताजले युवालाई त्यहीको प्रहरी प्रयोग गरेर पैसा असुल गर्न सकिने बताए।
भैँसेपाटी प्रहरी प्रमुख शाही र ताजबीच नजिकको सम्बन्ध थियो। सोही योजनाअनुसार ताजले दर्शन र सुस्मालाई केही दिनअघिमात्रै इटहरीबाट काठमाडौं बोलाए।
दुवैजना केही दिनदेखि गौशालाको एक होटेलमा बसेका थिए। ताजकै योजनामा दर्शन र सुस्मा होटेलबाट असोज पहिलो साता भैँसेपाटी पुगे।
ती व्यवसायीबाट असुल हुने कुल पैसामध्ये ५० प्रतिशत प्रहरी निरीक्षक शाहीले लिने तय भइसकेको थियो। सोही योजनाअनुसार सुस्मामार्फत व्यवसायी युवालाई प्रहरी निरीक्षक शाहीले फोन गर्न लगाए। सुस्माको फोनपछि युवा भैँसेपाटी पुगे। त्यही बेला ल्यान्ड रोभर प्राण्डोसहित युवालाई प्रहरी निरीक्षक शाहीले कार्यायलभित्र लगिन्।
बलात्कारको उजुरी आएको भन्दै युवालाई थर्काइन्। त्यो बेला सुस्मा र ताज पनि सँगै थिए। उनकै अगाडि मुद्दा नचलाउने पैसामा मिलाउने भन्दै ‘बार्गेनिङ’ भयो।
सुरुमा ६० लाखको बार्गेनिङ ३० लाखमा सहमति जुट्यो। त्यो बेला युवासँग सात लाख रुपैयाँ मात्रै थियो। सहमतिअनुसार ती युवाले दर्शनको खातामा सात लाख रुपैयाँ ट्रान्सफर गरे। बाँकी दुईदिनभित्र दिने बाचा गरे। तर, त्यसका लागि आफ्नो प्राण्डो नै बिक्री गर्नुपर्ने बताएका थिए।
उनले त्यही दुईदिनमा आफ्नो प्राण्डोलाई बजार मूल्यभन्दा दुई गुणा सस्तोमा बिक्री गरेर बाँकी १३ लाख बैंकमार्फत र १० लाखको चेक काटेको खुलेको छ।
१३ लाख सुस्माकै एक साथीको खातामा पठाएको खुलेको छ। युवाले खातामा पैसा पठाउँदा भैँसेपाटीका एक प्रहरी समेत पीडित युवासँगै गएको खुलेको छ। घटनाबारे तेस्रो दिनमा भने पीडित युवाका एक साथीले ललितपुर प्रहरीमा जानकारी गराए। त्यसपछि ललितपुर प्रहरीले भैँसेपाटीमा रहेका दर्शन, सुस्मा र ताजलाई समेत कार्यालय झिकाएको थियो।
सोही अनुसन्धानका क्रममा प्रहरीकै योजनामा ‘हनी ट्रयाप’मा पारेर रकम असुल्ने योजना भएको खुलेको हो। हाल सुस्मा र ताज प्रहरीको थुनामा छन्।
शाहीमाथि अनुसन्धान गर्न ललितपुर प्रहरीका डीएसपी नरहरी अधिकारीको नेतृत्वमा पाँच सदस्यीय समिति बनेको छ। समितिमा इन्स्पेक्टर दीपेन्द्र श्रेष्ठ र वरिष्ठ सई लोकेन्द्र पण्डितसहित ५ जना सदस्य छन्।
उसो त भैँसेपाटी प्रहरी प्रभाग प्रहरीको मुद्दा चल्ने युनिट होइन। कुनै उजुरी परे र मुद्दा चलाउनुपर्ने अवस्था भए उक्त प्रभागले ललितपुर जिल्ला प्रहरी परिसर, जावलाखेल पठाउँछ। तर, यतिबेला सोही प्रभागको नेतृत्व गरिरहेकी इन्स्पेक्टर शाही एक मुद्दालाई लिएर पैसा खाएको आरोपमा विवादित बनेपछि खैलाबैला मचिएको छ। २०७५ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरू गरेकी शाही विवादित अफिसर हुन्।
को हुन् ‘विवादित’ इन्सपेक्टर बिनुकुमारी ?
शाही उनै विवादित इन्सपेक्टर हुन्, जो यस अगाडि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत हुँदा कारबाहीमा समेत परेकी थिइन्। विभिन्न घटनाहरुमा उनलाई विभागीय कारबाही भएको थियो। पछिल्लोपटक उनी कञ्चनपुरमा हुँदा थुनुवामाथि ज्यादती गरेको लगायतका घटनामा विवादित बनेकी थिइन्। त्यसपछि तत्कालीन एसपी कमल थापासहित उनीमाथि विभागीय अनुसन्धानसमेत भएको थियो।
त्यस अगाडि कञ्चनपुरमै रिपोर्टिङका क्रममा पत्रकारहरुमाथि अप्रिय व्यवहार देखाएको भन्दै उनीसहित चार प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको थियो। गत वर्षको बैशाखमा महेन्द्रनगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरुबीच झडप भइरहेका बेला भिडिओ खिचिरहेको अवस्थामा पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
सोही घटनामा बिनुकुमारीलाई कारबाही गरिएको थियो। उनै शाहीको केही समय अगाडि कञ्चनपुरबाट प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग संघीय अपराध अनुसन्धान शाखा नक्साल काठमाडौंमा सरुवा भएको थियो। तर त्यहाँबाट पनि उनलाई ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग भैंसेपाटीमा खटाइएको थियो।
सो प्रभागमा इन्सपेक्टरको दरबन्दी भने छैन। तर बजेट बिनाको सो प्रभागमा शाहीलाई कमाण्ड दिएर काजमा खटाइएको थियो।