धनगढी: कैलालीमा दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना तयार गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार तीन ठुला पर्वलाई लक्षित गर्दै सुरक्षा योजना तयार पारिएको हो।
उक्त योजनाअनुसार जिल्लाभर साढे आठ सय प्रहरी परिचालन गरिने कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले जानकारी दिए। आम नागरिकलाई सुरक्षा दिनेगरि जनशक्तिको सही परिचालन, सिघ्र सेवा, तत्काल कारवाही र सहज पहलको उद्देश्यले जिल्लाभर शान्ति, सुरक्षा व्यवस्था मजबुत बनाउने गरि योजना तयार गरिएको उनले बताए।
`दसैंदेखि छठ पर्वसम्म जिल्लामा चोरी, डकैती, जुवातास, मदिरा सेवन, लागुऔषध सेवन नियन्त्रण, अपराधिक घटना न्यूनीकरण गर्दैै नागरिकलाई सुरक्षा प्रदान गर्न नियमित चेकजाँच बढाइनेछ,´ उनले भने, `त्यसका जागि सामान्य समय हुने चेकजाँचमा बृद्धि गरिनेछ। जिल्लाभर २६८ डिउटी परिचालन गर्ने योजना छ।´
जिल्लामा प्रहरी उपरीक्षक(एसपी)को कमाण्ड हुनेगरि कार्यालय सुरक्षा, रिजर्व फोर्स, इलाका प्रहरी कार्यालयसम्म जनशक्तिअनुसार स्टेन्ट बाई, पिकेट, साइकल गस्ती, मोबाइल गस्ती समेत परिचालन गरिने बिष्टले बताए।
सुरक्षा योजना अन्तरगत क्युआरटी, जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटबाट सादा पोशाकमा पनि छुट्टै टोली परिचालन, भारतबाट फर्किने तथा विभिन्न गन्तव्यमा जाने यात्रुको सहजीकरणका लागि सीमा नाकासहित १० ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गरिने उनले बताए ।
उनकाअनुसार भारतबाट फर्किने यात्रुको सहजताका लागि त्रिनगर सीमा नाकासहितका सीमा क्षेत्रका पाँच स्थानमा पनि चेक प्वाइन्ट सञ्चालन गरिनेछ । मेला पर्व, बैँक तथा वित्तिय संस्था, सुनचाँदी पसल, मोबाइल पसल लक्षित गरेर गस्ती पेट्रोलिङ्क बढाइने पनि प्रहरीले जनाएको छ
जुवातास, मदिरा तथा लागुऔषध नियन्त्रणका लागि छुटै समूह बनाएर परिचालन गर्ने, बजार अनुगमनमा जिल्ला प्रशासनलाई सघाउन छुट्टै समूह र राजमार्ग क्षेत्रमा हुने भीभीआईपी र भीआईपीको स्कटिङ्क गर्न पनि छुट्टै टोली बनाइएको प्रहरी उपरीक्षक बिष्टले जानकारी दिए ।
दशैँ, तिहार र छठ पर्वमा अपुग हुने जनशक्ति प्रदेश प्रहरी कार्यालयबाट माग गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।