काठमाडौँ: विपद् व्यवस्थापनमा कमजोरी भएको भन्दै धादिङका प्रमुख जिल्ला अधिकारीको हेरफेरपछि प्रहरी प्रमुख पनि फेरिएका छन्। प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय धादिङको कमान्ड एसपी दिपेन्द्र शाहीलाई दिइएको छ।
यसअघि धादिङका कार्यरत एसपी गौतम केसीलाई हेडक्वार्टर तानिएको छ। यसअघि गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीहरूको हेरफेर गरेको थियो। गृह मन्त्रालयले धादिङमा सहसचिव सुमन घिमिरे र काभ्रेमा अर्का सहसचिव उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएको छ।
धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंलाई भने मन्त्रालय तानिएको छ। दुवै प्रजिअ र जिल्लाका सुरक्षा निकायका प्रमुखमाथि विपद् व्यवस्थापनमा तत्परता नदेखाएको गुनासो छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानपछि काठमाडौंतर्फबाट जाने गाडीलाई रोक लगाइए पनि धादिङ हुँदै काठमाडौं आउने गाडीहरू सञ्चालनमा रोक लगाइएको थिएन।
अविरल वर्षा र बाढीपहिरोका बीच सवारी साधन चल्न दिँदा पृथ्वी राजमार्गअन्तर्गको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा ३५ जनाको मृत्यु भएको थियो ।