धनगढीः कैलाली र कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। तीनै जनालाई सोमबार नियन्त्रणमा लिइएको हो।
कञ्चनपुर प्रहरीका अनुसार एकजना भारतीय नागरिकलाई पनि पक्राउ गरिएको छ। पक्राउ पर्नेमा लखिमपुर जिल्ला पलिया बस्ने २८ वर्षीय बलराम सिंह रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीलेभीभमदत्त नगरपालिका वडा नम्बर ३ भासीबाट पक्राउ गरिएको हो।
उनको साथबाट १.८२ ग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ भने ८ हजार एक सय नगद पनि बरामद गरिएको छ।
यस्तै, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बेदकोट नगरपालिका वडा नम्बर ५ पोलखरीबाट सोही ठाउँ बस्ने २७ वर्षीय सुरेश नेपालीलाई पनि पक्राउ गरेको छ। उनको साथबाट ९ एम्फुल रेक्सोजोसिस र ९ एम्फुल फेनारगन लागूऔषध बरामद गरिएको छ।
यस्तै इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले कैलालीको गोदावरी नगरपालिका वडा नम्बर मनहरा टोलबाट सोही ठाउँ बस्ने १९ वर्षीय कमल रिजाललाई पनि पक्राउ गरेको छ। उनको साथबाट ५ सय ३० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ।