बैतडीः बैतडीका विभिन्न स्थानमा चितुवा देखिन थालेपछि त्रास बढेको छ। पछिल्लो समयमा जिल्लाको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाका विभिन्न स्थानमा लगातार चितुवा देखिन थालेपछि त्रास बढेको स्थानीयहरुले बताएका छन्।
दशरथचन्द नगरपालिकाका वडा नम्बर १ गुरुखोला खालमा शुक्रबार पासोमा परेको चितुवा शनिबार दिउँसो पासो चुँडालेर भागेपछि गाउँमा चितुवाको त्रास बढेको छ।चितुवा घाइते अवस्थामा भएकाले आक्रमण गर्न सक्ने स्थानीयले बताएका छन्।
यस्तै पाटन नगरपालिका वडा नम्बर ४ को क्षेत्रमा दिउँसै चितुवा देखिएको स्थानीयहरुले बताएका छन्। चितुवाले घरपालुवा गाईवस्तु मार्न थालेपछि स्थानीयहरुमा त्रास बढेको बताइएको छ।
पछिल्लो समयमा मानव–वन्यजन्तुबीचको द्वन्द बढ्दै गएको डिभिजन वन कार्यालयका रेञ्जर दिनबन्धु रोकायाले बताए। वन्यजन्तुहरुको बासस्थान नष्ट हुँदै जानु, वनमा पानीका श्रोतहरु सुक्दै जानु लगायतका कारणले पनि चितुवा मानवबस्ती नजिक आउने गरेको उनले बताए।