अछाम: अछामको पञ्चदेवल विनायक नगरपालिका ९ स्थित चण्डिका माध्यमिक विद्यालयका विद्यार्थी छात्राहरु भत्किएको झोलुङ्गे पुलको यात्रा गरेर विद्यालय जान्छन्। गएको जेठ २७ गते पुलको एकतर्फका लठ्ठा चुँडिएर १३ वटा खच्चड फस्दा पुल नै कोल्टे परेको थियो।
एकतर्फ कोल्टे परेको झोलुङ्गे पुलबाटै उनीहरु यात्रा गर्ने गर्छन्। भत्किएर जीर्ण भएको पुलमा स्थानीय प्रशासनले यात्रा गर्न रोक लगाएको छ। तर पनि दैलेखबाट अछामको विद्यालयमा पढ्ने छात्राहरु महिनावारीको समयमा जोखिमपूर्ण यात्रा गरेर विद्यालय जाने गरेका छन्।
सुरुमा यात्रामा प्रतिबन्ध लगाइएको पुलमा अहिले महिनावारीको समयमा महिलाहरु आवतजावत गरिरहेका छन्। उनीहरुलाई स्थानीय प्रहरीले नदेखे झैं गर्ने गरेको छ।
जीर्ण पुलको करिब ५ सय मिटर नजिक अर्को पुल निर्माण भएको छ। नवनिर्मित पुल नजिकै मन्दिर रहेकोले महिनावारी भएका किशोरीहरु उक्त पुलबाट हिँड्दा देवता रिसाउने भन्दै नजाने गरेका छन्।
कक्षा ७ मा अध्ययनरत दैलेखको आठबिस नगरपालिका ५ कि तुल्सी चौलागाईले आफूहरु महिनावारीको ९ दिनसम्म जीर्ण पुलबाटै विद्यालय जाने गरेको बताइन्। महिनावारी नहुँदा नवनिर्मित पुलबाट विद्यालय जाने गरेको बताउने चौलागाईंले महिनावारीको समयमा विद्यालयमा नजाँदा आफ्नो पढाइ छुट्ने भएकोले जीर्ण पुलबाटै जानेगरेको बताइन्।
विद्यालयकी अर्की छात्रा गिता सुनारले विद्यालयमा हाजिर नहुँदा प्रतिदिन २० रुपियाँ जरिवाना तिर्नपर्ने नियम रहेको बताइन्। नवनिर्मित पुलको दैलेखपट्टि नैनेल देवताको मन्दिर छ। परापूर्वकालदेखि स्थानीयले नैनेल देवताको पूजा गर्ने गरेका छन्। महिनावारी तथा गर्भवती समयमा मन्दिरको नजिक जान नहुने यहाँको धार्मिक विश्वास छ।