धनगढीः नेपाल–भारत गौरीफन्टा नाकामा आवागमन सहज बनाइएको छ। बेलुका ८ बजेबाट दुवै देशतर्फको भन्सार कार्यालय बन्द हुँदै आएकोमा चाडपर्वलक्षित गरी आवागमन सहज बनाइएको हो।
भारतमा भन्सार लाग्ने मालवस्तु साथमा नभएका नेपाली नागरिकलाई तोकिएको समयपछि पनि आउन दिने दुवै देशका सुरक्षाकर्मीको गौरीफन्टामा बसेको समन्वयात्मक बैठकले निर्णय गरेको छ। ८ बजेपछि भन्सार कार्यालय बन्द गरेर आवागमन रोक्दा चाडपर्व मनाउन स्वदेश फर्किने नेपालीलाई समस्या भएको थियो।
भारतको विभिन्न सहरबाट फर्किनेलाई समस्या नहोस् भनेर सहजीकरण गर्ने र जुनसुकै समयमा आउन दिने सहमति भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले बताए। “बाटोमा ढिलाइलगायत यावत् कुराले नेपालीहरू राति पनि गौरीफन्टा पुग्ने गर्छन,” उनले भने, “उनीहरूलाई सीमामा रोक्दा बसोबासको समस्याका साथै लुटपाटलगायत अन्य समस्या हुन सक्ने भएकाले चाडपर्वसम्मलाई आउन दिने सहमति भएको छ।”
यसै गरी दसैँ, तिहार, छठलगायतका पर्व मनाउनका लागि फर्किने नेपालीमाथि सीमा क्षेत्रमा लुटपाट हुन नदिन दुवै देशका सुरक्षा अधिकारीले सहजीकरण गर्ने बैठकमा सहमति भएको छ। चाडपर्व मनाउनका लागि स्वदेश फर्किने क्रममा विगतमा सीमा क्षेत्रमा नेपालीहरू लुटिने, ठगिने जस्ता थुप्रै घटना भएका छन्। स्वदेश फर्किने नेपालीलाई नाकामा कुनै समस्या हुन नदिन सशस्त्र प्रहरीको हेल्प डेस्कले सहयोग गर्ने सशस्त्र प्रहरी उपरीक्षक पाण्डेयले बताए।
बैठकमा नेपाल–भारत दुवै देशका सुरक्षाकर्मीले सीमा क्षेत्रमा दशगजा तथा सीमा अतिक्रमण हुन नदिने प्रतिबद्धता जनाएका छन्। यस्तै दुवै देशका सुरक्षा निकायबिच खबर आदानप्रदान गर्ने, सीमा इलाकामा संयुक्त गस्ती गर्ने, सीमास्तम्भको सुरक्षा गर्ने तथा सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने सहमति भएको छ। अवैध रूपमा खोटा अपचलन, अवैध हातहतियार, सामान, लागुऔषध ओसारपसार तथा मानव तस्करी नियन्त्रण गर्ने सहमति भएको जनाइएको छ।